माधव नेपालले ओलीलाई भने दिमाग बिग्रिसकेपछि मान्छे असन्तुलित बन्दोरहेछ’
काठमाडौं । मंगलबार सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि खनिए । आइतबार संसदबाट ‘व्याख्यात्मक घोषणा’सहित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन भएपछि पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपाल ओलीमाथि खनिन पुगे ।
अध्यक्ष नेपालले पार्टीभित्र रजाइँ गर्ने ओलीले एमसीसीको बारेमा जनतामाझ भ्रम फैलाएको पनि आरोप लगाए । तर, वर्तमान सरकारले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीबारे जनतामा रहेको भ्रम हटाएको नेपालको दाबी छ ।
उनले भने, ‘एमसीसीबारे पार्टीले स्पष्ट भएर अघि बढ्नुपर्छ भनेर निर्णय गरेको थियो । त्यसलाई प्रस्ट पार्नका लागि १२ बुँदे व्याख्यात्मक घोषणा आएको र त्यसमा विश्वास गर्ने आधार बनेको हो । अहिले जनता पनि प्रस्ट भएका छन्, जनताको भावनाको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत समाजवादी हो ।’
एमाले अध्यक्ष ओलीको अहंकारवाद, चिन्तन गर्ने सोच, एक्लौटी सत्ता सञ्चालन गर्ने तैरतरिका कारण आफूहरु त्यस पार्टीमा बस्न नसकेको पनि अध्यक्ष नेपालले पुनः दोहोर्याए । उनका अनुसार अहिले एमालेले सभामुखलाई भनेर आफूलाई कारबाही गरेर मुद्धा लगाउन भनिरहेको छ । यद्यपि, एमाले देशको समस्यासँग चिन्ता नगरेर विवादित काम गर्न खोजिरहेको अध्यक्ष नेपालको भनाइ छ ।
एमसीसीको बारे विवाद सिर्जना गर्ने केपी शर्मा ओलीको सरकार रहेको पनि अध्यक्ष नेपालको आरोप छ । ओलीका मन्त्रीहरुले विभिन्न ठाउँमा इन्डो प्यासिफिक स्ट्राटेजी (आइपीएस) को बारेमा चर्चा गरेको र त्यसको सदस्य भएको बारे प्रकाशित भएको भन्दै उनले आरोप लगाए ।
अध्यक्ष नेपालले भने, ‘एमसीसीको बारेमा जनतामा आशंका पैदा गर्ने काम ओलीले गरे । कार्यकर्तामाथि लाञ्छना लगाए । जनतालाई द्वोष दिए । मेरो कामको ढंग पुगेन, बुद्धि पुगेन भनेर आत्मलोचना गरेनन् । उनले लेखेको वक्तव्य हेर्नुस् त । यस्तो मर्यादाहीन शब्दहरु छन् । भनेपछि दिमाग बिग्रिसकेपछि मान्छे असन्तुलन हुँदोरहेछ । असन्तुलन भएपछि मान्छे असन्तुलित हुँदोरहेछ । र, असन्तुलित उपजको रुपमा जारी भएको यो प्रेस वक्तव्य हो । यस्ता वक्तव्यको निन्दा र भत्र्सना गर्न चाहन्छु । कुनै भ्रममा नपरौँ ओलीमा देशभक्तको भावना छैन, आत्मसर्मपणवादी र अवसरवादी अवलम्बन गरेर हिँडेको मान्छे कम्युनिष्ट हुँदै होइनन् ।’