दुई फरक भ्रष्टाचार मुद्दा लागेका सहन्यायाधिवक्तालाई एकैपटक सफाइ
दुई फरक भ्रष्टाचार मुद्दा लागेका सहन्यायाधिवक्तालाई एकैपटक सफाइ
विशेष अदालतले उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । अदालतले दुई फरक प्रकृतिको मुद्दालाई एकसाथ हेरेर सफाइ दिएको हो ।
विशेष अदालतका सदस्य रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुसीप्रसाद थारुको इजलासले सोमबार सफाइ दिएको हो । थापामाथि अख्तियारले तीन वर्षको फरकमा मुद्दा चलाए पनि विशेष अदालतले एकैसाथ दुई मुद्दा राखेर एकै दिन सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस लिएको आरोपमा २७ कात्तिक २०७५ मा थापामाथि घुस रिसवतको मुद्दा दायर गरेको थियो । यसै गरी, गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै २६ माघ २०७८ मा अर्को मुद्दा पनि दायर भएको थियो ।
उच्च सरकारी वकिलको कार्यालय पोखराको प्रमुख हुँदा सहन्यायाधिवक्ता थापाले पाँच लाख रुपैयाँ घुस खाएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले ठगी मुद्दामा जोडिएका एक व्यक्तिविरुद्धको मुद्दा माथिल्ला अदालतमा नलैजाने सर्तमा उनका बाबुसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए । आजको राजधानी दैनिकमा समाचार छ ।