२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

वर्तमान सरकार र गठबन्धनले संसद्को बाँकी कार्यकाल पूरा गर्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार र गठबन्धनले संसद्को बाँकी कार्यकाल पूरा गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै नेता पौडेलले संसदमा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दलहरू मिलेर सरकार बनाइनु स्वाभाविक भएको बताए । उनले कुनै निश्चित दलसँग मात्रै सत्ता सहकार्य हुनुपर्छ भन्ने नभई संसदभित्र जुनसुकै दलका बीच पनि सहकार्य हुनु स्वभाविक प्रक्रिया भएको टिप्पणी गरे ।

यही फागुन २१ गते एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीबीचको सहमतिबाट सरकार पुनर्गठन भएको थियो । सरकारमा नेकपा (एकीकृत समाजवादी) पनि सहभागी भएको छ ।

नेता पौडेलले आफ्नो विगतको तीतो यात्रालाई समीक्षा गर्दै मुलुकको सुशासन, समृद्धि र सामाजिक न्यायका लागि नयाँ गठबन्धन आरम्भ गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शुभकामना दिँदै यो यात्रा अविराम र अविचलित रूपमा अघि बढोस् भन्ने कामना गरे ।

‘प्रधानमन्त्री दाहालबाट विगतको गठबन्धनका समस्यालाई खुलस्त रूपमा राखेर सहज र संविधानसम्मत रूपमा विकल्प खोज्ने काम भएको छ । यसलाई सबै दलले सहज र स्वाभाविक रूपमा लिनुपर्छ,’ नेता पौडेलले भने, ‘अहिले प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । अहिले भएको सहयात्रा जनता र राष्ट्रका समस्यालाई सम्बोधनमा केन्द्रित रहन्छ । यो सरकारले संसद्को बाँकी कार्यकाल पूरा गर्नेछ ।’

आर्थिकमन्दीका कारण जनताका निराशा र असन्तुष्टिलाई सम्बोधन गर्दै प्रतिपक्षका जायज मागलाई सुनेर सरकारले आशावाद सिर्जना गर्ने काम गर्ने उनको भनाइ छ ।

नेता पौडेलले विद्यमान संवैधानिक प्रबन्धअनुसार कुनै एक दलको बहुमत आउन कठिन अवस्था रहेको उल्लेख गर्दै जनताको विश्वास जित्दै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com