कम्युनिस्टभित्रको पहिलो शक्ति हुन्छौ : भुसाल
कम्युनिस्टभित्रको पहिलो शक्ति हुन्छौ : भुसाल
जनसेवा न्युज डटकम संवाददाता
नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवम् उर्जा,जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालले आगामी चुनावबाट कम्युनिस्ट शक्ति भित्रको पहिलो बन्ने दाबी गरेकी छिन् । प्रेस सेन्टर नेपाल ललितपुरले आयोजना गरेको प्रेस सेन्टर केन्द्रका पदाधिकारीलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले माओवादी लेफ्ट भित्रको पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने ठोकुवा गरिन ।
‘यो निर्वाचनमा अध्यक्ष प्रचण्डले भने जस्तै कम्युनिस्ट पार्टीहरूको पहिलो पार्टी र कम्युनिस्ट आन्दोलन भनेको माओवादी आन्दोलन हो भनेर पुष्टी गर्नेगरी शक्ति बन्ने छौ’ भुसालले भनिन, ‘त्यो कम्युनिस्टभित्रको पहिलो शक्ति स्थापित गर्न पार्टी नेता कार्यकर्ता र मिडियाको भूमिका हुनेछ । त्यसमा लाग्नुस् । यो बीचमा चाडबाड छ । हामी जहाँ जस्तो अवस्थामा भएपनि अब पूर्णकालीन प्रचार शक्तिको रुपमा मिडियाकर्मी जुट्नुपर्छ ।’ आगामी चुनावमा गठबन्धन अग्रगामी एजेण्डा लिएर जाने बताउँदै भुसालले अर्को शक्ति प्रतिगामी यथास्थिति मुद्धा लिएर जाने जिकिर गरिन । उनले अबको चुनावमा पश्चगामी यथास्थितिवादीले अग्रगामीलाई प्रहार गर्न सक्ने भएकाले चनाखो रहन मिडियाकर्मीलाई आग्रह गरिन् ।
मंसिरमा हुने चुनावको मिति धेरै टाढा नभएकाले सीट बाँडफाँट र उम्मेदवार चयन छिटो सक्नुपर्ने भुसालको भनाई छ । ‘काँग्रेस माओवादीसहित पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाने निर्णय भइसकेको छ । अध्यक्ष प्रचण्ड जापानबाट फर्किएपछि मूर्त रुप दिनेगरी छलफल हुनेछ’ भुसालले भनिन्, ‘अब छिटोभन्दा छिटो चुनावी क्षेत्रको भागवण्डा गरेर चुनावमा होमिनुपर्छ । त्यसपछि उम्मेदवार चयन गरेर जनताको बीचमा जानुपर्छ ।’ अहिलेको प्रचार भनेको मिडिया भएकाले मिडियाकर्मी जनताको पक्षमा उभिएर प्रचारमा जुट्न आग्रह गरिन् ।