बालेनले भने- ‘चाहेको यत्ति हो’

बालेनले भने- ‘चाहेको यत्ति हो’
काठमाडौँ । ‘महानगरको सूचनालाई अनुसरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ।’ राजधानीमा रहेको एक निजी पसल सञ्चालकले आफ्नो मूलढोकामा टाँसेको सूचनामा उल्लेख भएको व्यहोरा हो यो। यही सूचनाको तस्बिर शुक्रबार समाजिक सञ्जालमा भाइरल बन्यो। यही तस्बिरलाई फेसबुकमा पोस्ट गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ९बालेन० साहले लेखिहाले, ‘चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यही रूपमा प्रयोग होस्। यो कुरालाई पहिलेदेखि नै व्यावहारिक रूपमा प्रयोग गर्नुभएकाहरूप्रति महानगर आभारी छ।’ महानगरको अहिलेको अभियानलाई साथ दिने सबैलाई धन्यवाद दिँदै बालेनले नियमको पालना गरिदिन र महानगर व्यवस्थित बनाउन सबैलाई आग्रह गरेका छन्।
महानगरको अभियान र आग्रहले सकारात्मक संकेत देखाएको छ। यसको एउटा उदाहरण शुक्रबार त्रिपुरेश्वरमा देखियो। यहाँस्थित राहदानी विभागमा जाँदा जोरपाटीका सुमन घिमिरेले बाइक राख्ने ठाउँको अभावमा पटकपटक थुप्रै दुःख बेहोरे। पार्किङको व्यवस्था नहुँदा कार्यालयछेउमै बाइक
अड्याउँदा कतिपटक त बाइक ढलेको र एकपटक ट्राफिक जरिवानासमेत तिरेको उनको अनुभव छ। तर शुक्रबार भने घिमिरे खुसी देखिन्थे। ‘आज पनि बाइक पार्किङमा समस्या भोगियो,’ उनले भने, ‘अबदेखि चाहिँ यो समस्याबाट मुक्ति मिल्ने विश्वास लिएको छु।’ यो खबर नागरिक दैनिकमा छ ।



