सिएरा लियोनमा तेल ट्यांकरमा विष्फोटमा मृत्यु हुनेको संख्या १३१ पुग्यो
काठमाडौं । सिएरा लियोनमा तेल ट्यांकरमा विष्फोट हुँदा मृत्यु हुनेको संख्या १३१ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाधयमहरुले दिएको जानकारीअनुसार गत साता भएको उक्त विष्फोटमा परी घाइते भएका थप ६३ जनाको अहिले राजधानी सहर फ्रिटाउनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जसमध्ये १९ जनाको अवस्था गम्भीर छ । गत शुक्रबार फ्रिटाउनको पूर्वी भागमा तेल ट्यांकर र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएसँगै ट्यांकरमा आगो लागेको थियो । यसमा परी मृत्यु हुनेमा ट्यांकरबाट तेल चोर्नको लागि पुगेका मोटरसाइकल चालक पनि छन् ।
साथै, सडकमा व्यापारको लागि बसेका मानिसहरु, ट्यांकरसँगैको बसमा रहेका मानिसको पनि दुर्घटनामा परी मृत्यु भएको छ । धेरैको शव पनि पहिचान गर्न नसकिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार प्रत्येक शवबाट नमुना संकलन गरी मानिसको पहिचान गर्न प्रयोगशालामा पठाइएको छ ।