देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको छ : मेयर रेणु दाहाल
प्रकाशित : २०७८ पुष २
काठमाडौं– भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवन राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको दाबी गरेकी छन्। उनले देश शान्तिप्रक्रिया यता प्रचण्डकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको दाबी गरिन्।
उनले प्रचण्ड चितवनको जनप्रतिनिधि बनेपछि छोटो समयमै जिल्लाको कायापलट भएको तर्क गरिन्। मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको उल्लेख गरिन्।
मेयर दाहालले आफ्नो साढे ४ वर्षको कार्यकालमा जनताले सोचेको र जनतासँग वाचा गरे भन्दा धेरै काम गरेको दाबी गरिन्। उनले चितवन जिल्ला अहिले दुग्ध उत्पादन, माछा, केराखेती, कृषिको क्षेत्रमा आत्मनिर्भर रहेको बताइन्। मेयर दाहालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि महानगरले उल्लेख्य काम गरेको र आगामी दिनमा कृषि, शिक्षा, स्वास्थ्यको हब चितवन बनाउने दाबी गरिन्। उनले शीर्षस्थ नेताहरु भएको ठाउँको विकास अलि चाँडै हुने गरेको त्यसको प्रभाव चितवनमा पनि परेको बताइन्।
मेयर दाहालले महानगरले रोजगारी सिर्जना गर्न, विकासलाई तीव्रता दिनका लागि काम गरिरहेकोले जनताले यसलाई मूल्यांकन गरिरहेको बताइन्। उनले चितवन जिल्लाका लागि प्रचण्ड आवश्यक रहेको भन्दै पहुँच बिना अर्बौंका योजना शुरु गर्न सम्भव नभएको बताइन्। मेयर दाहालका अनुसार आफ्नो कार्यकालमा महानगरमा ३ अर्ब ७० करोडको खानेपानी योजना र ६१० किलोमिटर सडक निर्माण भएको छ। उनले महानगरको ५ वर्षे कार्याकालमा निजी विद्यालयबाट १० हजार विद्यार्थीहरुलाई सरकारी विद्यालयमा भर्ना गराउने योजना भएको र त्यसअनुसार सफल भइरहेको बताइन्।
फरक प्रसंगमा मेयर दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताइन्। दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन्।
आइतबार न्यूज एजेन्सी नेपालसँग भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने बताइन्। मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र वहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताइन्।
मेयर दाहालले भनिन्, ‘हामीले प्रक्रिया अघि बढाइसकेका छौं। हुनत हाम्रो सम्झौताअनुसार महानगरपालिकाले जग्गा उपलब्ध गराउने, त्यो खालको वातावरण निर्माण गरिदिने र श्रोत जुटाएर निर्माण सम्पन्न गर्ने, दायित्व धुर्मस सुन्तली फाउण्डेशनको हो। महानगरले जग्गा उपलब्ध गराउने र वातावरण निर्माण गरिदिने भन्ने हो, त्यसका बाबजुद पनि महानगरले श्रोत जुटाउन आर्थिक सहयोग पनि जुटायौँ। राम्रो सहयोग जुटेको हो। आन्तरिक आयबाट पनि बजेट विनियोजन गरेर हस्तान्तरण गरेको हो। लगभग १० करोड बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराएको हो।
महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौँ। १८–२० करोडको बजेट फाउण्डेशनलाई उपलब्ध गराएको हो। उहाँहरुले १७ करोड ऋण लागिसक्यो गर्न सक्ने स्थिति भएन भनेपछि ऋण लगाएर गर्ने कुरा भएन। उहाँहरुले हामीले श्रोत जुटाउन सकेनौँ, त्यसकारण महानगरपालिकाले स्वामित्व ग्रहण गरिदिनुपर्छ भनेर आग्रह गरेपछि हामीलाई पत्र पनि दिनुभयो र उहाँहरुले फाउण्डेशनको तर्फबाट आर्थिक र प्राविधिक प्रतिवेदन पेश गरेपछि यो बहुवर्षिय योजनाअनुसार अघि बढाउन र ऋण तिर्न पनि संघीय सरकारलाई आग्रह गर्छौं। सरकारले जिम्मेवारीबाट पन्छिन मिल्दैन, स्वामित्व लिन्छ। सबै सरकारको आपसी र समझदारीबाट यो योजनालाई अघि बढाउँछौँ।’