प्रचण्डले भने एमसीससी पास गराउन अमेरिकालाई चिठी पठाएको छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्न हस्ताक्षर नै गरेर अमेरिकालाई चिठी पठाएको भनिएको झुटो भएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र प्रचण्डले एमसीसी पारित गर्न अमेरिकालाई हस्ताक्षर गरेर पठाएको भनेपछि शुक्रबार अध्यक्ष प्रचण्डले उक्त कुरा झुटो रहेको बताएका हुन् ।
बिहीबार बेलायतमा जलवायुसम्बन्धी कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग आफू र प्रचण्डले एमसीसी पारित गर्न हस्ताक्षर गरेर अमेरिकालाई पठाएको भनेका थिए ।
एमसीसीको चौतर्फी विरोध भइरहेको अवस्थामा प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले तरंग पैदा गरेको थियो ।
शुक्रबार खुमलटारस्थित आफ्नो निवासमा खेल्न आएको सञ्चारकर्मीका देउसी भैलो टिमसँग अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवाले भनेजस्तो एमसीसीबारे हस्ताक्षर गरेर पत्र नपठाएको बताए ।
प्रचण्डले भने, ‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले एमसीसीबारे बोलिदिनुभएछ– प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर । त्यसपछि देशैभरि साथीहरुको तरंग पैदा भएको छ । तर, वास्तवमा त्यस्तो चिठी पठाएको हैन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ
अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा एमसीसी संशोधन नभई पारित नहुने पनि बताएका छन् । राष्ट्रिय हित र सहमतिविना एमसीसी पास नहुने प्रचण्डको भनाइ छ ।