अफगान महिलालाई टेलिभिजन नाटकमा रोक, यी हुन तालिबानले लगाएका नयाँ प्रतिबन्ध

अफगानिस्तान टेलिभिजन च्यानलका लागि जारी गरिएको निर्देशिकामा आठ ओटा नयाँ नियम छन् । जसअनुसार मुसलमानहरूको मूल्य र मान्यताविपरित वा शारिया सिद्धान्तविरोधी फिल्मदेखि कमेडी शृंखला प्रसारणमा रोक लगाइएको छ ।
मुस्लिम धर्म वा आम अफगानिका लागि अपमानित हुने हास्य तथा रमाइला कार्यक्रममाथि पनि प्रतिबन्ध लगाइएको छ । विदेशी सांस्कृतिक मूल्य र मान्यता प्रबद्र्धन हुने चलचित्रलाई प्रतिबन्ध लगाउन तालिबानले जोड दिँदै आएको छ । अफगान टेलिभिजन च्यानलहरुले प्रायः विदेशी नाटक प्रसारण गर्छन् । ती नाटकहरूमा अफगान महिलाहरु मुख्य भूमिकामा देखिन्छन् ।
अफगानिस्तानको पत्रकारहरुको संगठनका सदस्य हुजातुल्लाह मुजाडेडीले नयाँ प्रतिबन्ध अप्रत्यासित भएको प्रतिकृया दिएका छन् । उनले तालिबानले ल्याएका कतिपय नियम अव्यवहारिक भएको र त्यसलाई कार्यान्वयन गरिएमा प्रसारण माध्यम नै बन्द हुने बताएका छन् ।
यसअघि तालिबानले महिलालाई विद्यालय जान रोक लगाएको थियो । देशको आधाभन्दा बढी जनसंख्यालाई विद्यालयमा प्रतिबन्ध लगाउने अफगानिस्तान विश्वकै पहिलो देश हो । सत्ता सम्हालेपछि तालिबानले राजधानी काबुलस्थित महानगरका कर्मचारीलाई बेतलबी बिदामा घरमै बस्न आदेश दिएको छ ।