२२ वर्षीया विन्दा कांग्रेसको प्रदेश प्रतिनिधि निर्वाचित
ओखलढुंगाकी २२ वर्षीया विन्दा बोगटी कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छिन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार भएको प्रदेश क्षेत्रीय निर्वाचनबाट तीन सय एक मतसहित बोगटी विजयी भएकी हुन्। उनका प्रतिद्वन्द्वी कमला धमलाले दुई सय ९२ मत ल्याएकी थिइन्।बोगटी १४औँ महाधिवेशनमा जिल्लाका उम्मेदवारमध्येकी सबैभन्दा कम उमेरकी हुन्।
राजधानीस्थित जनमैत्री क्याम्पसको नेविसंघ इकाइ कोषाध्यक्ष तथा काउन्सिल सचिव रहेकी बोगटी १३औँ महाधिवेशनबाट पार्टीको राजनीतिमा आएकी हुन्। विद्यार्थीको हकहित र जागरणमा काम गरेको अनुभवसहित पार्टीको राजनीतिमा सक्रियता बढाएको उनले बताइन्। प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि राजनीतिमा सशक्त भएर लाग्न थप ऊर्जा मिलेको उनको भनाइ छ।