विश्वकप छनोट : नेपालद्वारा मलेसिया पराजित, ग्लोबल छनोटको सम्भावना कायमै
प्रकाशित : २०७८ / ११ मंसिर शनिवार
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । नेपालको ४ खेलमध्ये यो लगातार तेस्रो जित हो । यो जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।
शुक्रबार दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पूरा ग(यो ।
नेपालका लागि सीता राना मगरले सर्वाधिक ३० रनको योगदान गरिन्, भने कप्तान रुविना क्षेत्रीले २० रनको योगदान गरिन् । त्यस्तै सरिता मगरले १५ रन र कविता कुँवरले १० रन जोडे ।
यसअघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ९२ रन जोड्यो । जसका लागि इल्सा हन्टरले सर्वाधिक ३९ रन जोडिन्, भने मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान गरे ।
त्यस्तै नेपालका लागि सवनम राईले सर्वाधिक २ विकेट हात पारिन्, भने कप्तान रुविना क्षेत्री, सीता राना मगर र कविता कुँवर एक–एक विकेट हात पारे । नेपालले चार खेलमा तीन जितसँगै ६ अंक जोडेको छ ।