केपी ओलीका कारण घनश्याम भुसाल र योगेश भट्टराइहरूको राजनीति संकटमा परेको अध्यक्ष पञ्च सिंहको टिप्पणी
![](https://www.janasewanews.com/wp-content/uploads/2021/11/Students-organizations-should-no12.jpg)
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्च सिंहले केपी ओलीका कारण घनश्याम भुसाल र योगेश भट्टराइहरूको राजनीति संकटमा परेको टिप्पणी गरेकी छन्।
इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस अखिल (क्रान्तिकारी) समितिले सोमबार आयोजना गरेको नवआगन्तुक विद्यार्थीहरूको बृहत् स्वागत तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले चितवनमा जारी एमालेको दसौं महाधिवेशनको आलोचना गरेकी हुन्।
समाजले आशा गरेका नेताहरू केपी ओलीको पछि लाग्दा ओलीसँगै उनीहरूको राजनीतिसमेत समेत जोखिममा परेको उनले बताइन्।
केन्द्र सरकार ढालेर ओलीलाई बालकोट र एमाले नेतृत्वमा रहेका प्रदेश सरकारहरू ढालेर साना ओलीहरूलाई पनि घर फिर्ता पठाइसकिएको उल्लेख गर्दै उनले आगामी स्थानीय निर्वाचनपछि देशभरका वडा र पालिकाबाट साना ओलीहरू बिदा हुने दाबी गरिन्।
‘आउने स्थानीय तहको निर्वाचनपछि देशभरका पालिका र वडाहरूबाट भुरे टाकुरे ओलीहरूलाई समेत बिदा गरेर एमालेमुक्त मुलुक निर्माण गरिनेछ’ नेता सिंहले भनिन्, ‘अहिले समाजले आशा गरेका केही एमाले नेताहरू समेतको राजनीति नाटकीय ढंगले धरापमा परिरहेको छ।’