सेयर बजार राताम्मे, २६ सयमुनि झर्यो परिसूचक

जनसेवा न्यूज संवाददाता
काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । साता कारोबारको अन्तिम दिन बिहीबार ४९ अंक घटेसँगै परिसूचक २५८४ मा कायम भएको हो । यस दिन कारोबार रकम भने केही बढेको छ । हिजो २ अर्ब ७४ करोडको धितोपत्र कारोबार भएकोमा आज ३ अर्ब ४१ करोड कायम भएको छ । कुल १७७ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको मात्रै बढ्यो ।
सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ १७, ब्यापार ३६, होटल तथा पर्यटन ६२, विकास बैंक १८९, जलविद्युत ६६, फाइनान्स ९३, निर्जीवन बीमा २४५, उत्पादन १५३, अन्य ७५, माइक्रोफाइनान्स ८४ र जीवन बीमा २३० अंकले घटे ।
बजार राताम्मे हुँदा दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । सामलिङ पावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो । हालै सूचीकृत भएकाले यी कम्पनीको मूल्य केही दिनयता निरन्तर १० प्रतिशतले बढेको छ । सामलिङको मूल्य प्रतिकित्ता ५०७.५० तथा न्यादीको ४१३.१० रुपैयाँ पुगेको छ ।