२०८१ श्रावण १२ - Sat Jul, 2024 -

Janasewa News

तरलता संकटको असर सहकारीसम्म, निक्षेप जम्मा गर्न बैंकको अनुनय

१७ मंसिर, काठमाडौं । लगानी योग्य रकम (तरलता) अभावको असर सहकारीसम्म पुगेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल बैंक तथा वित्तीय संस्थापछि सहकारीहरुले तरलताको समस्या सामना गर्न परेको बताउँछन् ।

चालु आर्थिक वर्षको शुरुदेखि नै बैंकहरु कर्जा लगानीमा आक्रामक बनेका थिए । उनीहरुले निक्षेप भने जम्मा गर्न सकेनन् । पछिल्लो समय लगातार निक्षेप घटिरहेको छ भने कर्जाको माग बढिरहेको छ ।

बैंकहरु कर्जा लगानीमा आक्रामक बन्दा सहकारीमा समेत कर्जाको माग हृवात्तै बढेको छ । ‘कर्जाको माग अत्यधिक हुँदा सहकारी संस्थाहरुमा पनि तरलताको चाप परेको छ’ अध्यक्ष कँडेल भन्छन्, ‘बैंकहरुजस्तो ऋण लगानी गर्नै नसक्ने अवस्था भने आइसकेको छैन ।’

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई कर्जा(निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गराउन निर्देशन दिएको छ । तर कर्जाको माग धेरै हुँदा २७ वाणिज्य बैंकमध्ये २४ वटाको सीडी रेसियो ९० प्रतिशत नाघेको छ । यसले बैंकहरुमा परेको तरलता अभावको चाप देखाउँछ ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय तत्कालै तरलता सहज भइहाल्ने अवस्था नरहेको बताउँछन् । चालु आर्थिक वर्षको आधा समय सकिन लाग्दा बुधबारसम्म सरकारले पुँजीगत खर्च जम्मा ५.४६ प्रतिशतमात्रै गरेको छ ।

अर्को तर्फ विदेशबाट भित्रने रेमिट्यान्स पनि चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै घटिरहेको छ । आयात पनि बढ्दो क्रममा छ । यसकारण पनि तरलता सहज हुन समय लाग्ने अध्यक्ष उपाध्याय बताउँछन् ।

सहकारी क्षेत्रबाट थोरबहुत निक्षेप बैंकिङ क्षेत्रमा आइरहेको उनले बताए । सहकारीहरु आफैले पनि ठूलो मात्रामा ऋण लगानी गरिरहेकाले धेरै ठूलो रकम भने नआएको उनले बताए ।

‘निक्षेप कहाँ सुरक्षित हुन्छ भन्ने सर्वसाधारणले पनि थोरै विचार गर्नु भएको हो कि भन्ने लाग्छ’, उपाध्याय भन्छन्, ‘फेरि ब्याजदर पनि बैंकहरुमा राम्रै छ ।’

बैंकर्स संघका अनुसार मंसिर पहिलो सातामात्रै बैंकहरुले १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । निक्षेप भने बढ्नुको सट्टा ७ अर्ब रुपैयाँ घटेको छ ।

गत कात्तिक १३ गतेसम्म बैंकहरुको कुल ऋण लगानी ४० खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा १० मंसिरसम्म ४० खर्ब ५५ अर्ब पुगेको छ । निक्षेप भने ४२ खर्ब २६ अर्ब रुपैयाँबाट घटेर ४२ खर्ब १९ अर्ब रुपैयाँमा झरेको छ ।

सहकारी धाउँदैछन् बैंकहरु

बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्याल बैंकहरु निक्षेपका लागि सहकारी संस्थामा धाइरहेको बताउँछन् । ‘तर, सहकारीहरुमा पनि तरलताको समस्या छ, पैसा दिन सक्ने अवस्था छैन’, उनले भने, ‘बाहिरबाट हेर्दा सामान्य देखिएला तर तरलताको समस्याले निकै अप्ठेरो अवस्थामा पुर्‍याउलाजस्तो छ ।’

अहिले देखिएको समस्या कुनै एक क्षेत्रको लागि मात्रै नभएर समग्र अर्थतन्त्रकै समस्या भएको उनले बताए । यसले अर्थ व्यवस्थामा ठूलै चुनौती सिर्जना गर्ने भन्दै उनले यसमा सरकार र सरोकारवालाहरुले बेलैमा ध्यान दिनुपर्ने बताए ।

सहकारी संस्थाहरुमा कुल निक्षेप ५ खर्ब हाराहारी छ । स्वनियमनमा चल्ने सहकारी संस्थाहरुलाई नियामक कार्यालयहरुले कडाइका साथ अनुगमन गर्दैनन् । बैंकहरुमा जस्तो सहकारी संस्थाहरुमा सीडी रेसियो कायम गर्नुपर्ने बाध्यकारी व्यवस्था पनि छैन ।

सहकारी संस्थाहरुले आप्mना सदस्यहरुलाई ऋण दिने र बढी भएको रकम बैंकमै जम्मा गर्ने गरेका छन् । सामान्य अवस्थामा त्यति धेरै वास्ता नगर्ने बैंकहरु अहिले सहकारी संस्थाहरुलाई ‘तरलता अभाव भयो, केही समयलाई निक्षेप राखिदिनुस्’ भनेर आग्रह गरिरहेका छन् ।

तरलता समस्या समाधानका लागि राष्ट्र बैंकले बेलाबेला तरलता पठाइरहेको छ । बजारलाई चलायमान बनाइराख्न नियमति रुपमै तरलता पठाएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।

बजारमा अधिक तरलता हुँदा राष्ट्र बैंकले खिच्ने गरेको छ भने अभाव हुँदा पठाउने गरेको छ ।

साउनदेखि असोजसम्म रिपोमार्फत् मात्रै एक खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरिएको राष्ट्र बैंकको अनुसन्धान विभागले जनाएको छ । यस अवधिमा स्थायी तरलता सुविधामार्फत् ८ खर्ब २२ अर्ब ६८ करोड गरी १० खर्ब ८ अर्ब १७ करोड तरलता प्रवाह गरेको राष्ट्र बैंकले बताएको छ ।

यति ठूलो रकम प्रवाह गर्दा राष्ट्र बैंकले जम्मा ६० अर्ब रुपैयाँमात्र तरलता खिचेको छ । यस अवधिमा निक्षेप संकलन उपकरणमार्फत् ३१ अर्ब ६५ करोड रुपैयाँ र रिभर्स रिपोमार्फत् २८ अर्ब ३५ करोड रुपैयाँ गरी ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा पनि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत् ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।

बैंकहरुले भने निक्षेप संकलन घट्दा पनि ऋण लगानी गर्न छाडेका छैनन् । राष्ट्र बैंकका प्रवक्ता ढकाल बैंकहरू अल्पकालीन स्रोतमा भर पर्दा तरलता समस्या गहिरिएको बताउँछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com