नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन ले भने अव पार्टीभित्र गुटको अन्त्य भएको घोषणा
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र गुटहरू नहुने दाबी गरेका छन् । आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष लिङ्देनले भने, ‘ आजबाट कुनै गुट छैन राष्ट्रिय प्रजातन्त्र पार्टीमा । कोही कसैको मान्छे छैन, सबै राप्रपाको मान्छे भएका छन् ।’
उनले पार्टीलाई विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट आफूलाई नरहेको भन्दै पार्टीलाई मात्र नभइ पार्टीका मुद्दालाई जोड दिने बताए । उनले बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तन गर्नुपरेको भन्दै अब राप्रपामा गुटहरु नहुने समेत दाबी गरे । ‘अब पार्टीका नेता, कार्यकर्ताले कोही एक व्यक्तिको नामबाट नभई राप्रपाको कार्यकर्ता भएर भोट माग्न जान पाउने बताए,’ उनले भने ।
पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय जुलुस निकाल्न, माला र खादा लगाइदिन र मुर्दावाद र जिन्दावादको नारा लगाउन आवश्यक नरहेको अध्यक्ष लिङ्देनको भनाइ थियो ।
नवनिर्वाचित अध्यक्ष लिङ्देनले नेपालको राजनीतिमा स्थापित नेतृत्वसँग प्रतिस्पर्धा गरेर राप्रपाको नेतृत्व परिवर्तन गर्नु सानो कुरा नभएको बताए । उनले नेतृत्व परिवर्तन नगरी देश विकास हुँदैन भन्ने कुरामा मात्रै सीमित रहेका देशका ठूला राजनीतिक पार्टी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेका पुस्तान्तरणका कुरा गर्नेहरुलाई अब राप्रपाले नेतृत्व गर्ने बताए ।
अध्यक्ष लिङ्देनले नेकपा माओवादीले परिवर्तनको नाममा १० वर्ष ध्वंसात्मक गतिविधि सञ्चालन गरेर पुरानो भत्काउने नयाँ बनाउने भने पनि नयाँ योजना नै बनाउन नसकेको आरोप लगाउँदै अब राप्रपाले पुरानोलाई निरन्तरता दिँदै सिर्जनात्मक तरिकाले देशको विकास गर्ने बताए ।