मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको छु मन्त्री आले

काठमाण्डौ – आज सोमवार मन्त्रालयमा आयोजित नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) लाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाण पत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाएको दाबी गर्नुभएको हो ।
आफूले नेपाली ध्वजावाहक जहाजलाई नाफामा पुर्याउने चाहना राखेको उहाँले बताउनुभयो । अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनै पनि हालतमा माथि उठाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो ध्वजावाहक जहाज भनेको नेपाली जनताले राजस्व तिरेर, कर तिरेर बनेको हो । यसलाई कुनै पनि हालतमा माथि उठाउनैपर्छ । यो मन्त्रालयले हरेक खर्चमा पनि मितव्ययिता अपनाएको छ । हामी चाहन्छौँ कमभन्दा कम खर्चमा नेपाल ध्वजावाहक जहाज नाफामा होस्, फाइदा होस् । अहिले पनि हामीलाई ५० अर्ब रुपैयाँभन्दा बढी ऋण छ । हामी एकदमै चिन्तित छौँ । हामीले नौ प्रतिशत ब्याज तिरिराख्नु परेको छ । किस्ता हाम्रो ड्यु छ ।
ब्याज हामीले तिर्न सकेका छैनौँ । विभिन्न समस्या समाधान गर्नका लागि म यहाँ आएको छु । राम्रो काम गर्दा कतिपय मान्छेहरूले आफ्नो व्यक्तिगत चाहना पूरा नहुँदा उनीहरूले विभिन्न मिडियामा लेखाउने काम गरिराखेका छन् । त्यसमा मैले भन्नुपर्ने केही छैन । त्यो त तपाईँहरू आफैँले पनि बुझ्न सक्नुहुन्छ ।’
मन्त्री आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसङ्गति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।