एकिकृत समाजवादी पार्टीका अध्यक्ष नेपालको तर्क एमाले र राप्रपा मिल्न सक्छ

२१ मंसिर, विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी आपसमा मिल्ने सम्भावना रहेको बताएका छन् ।
मंगलबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा उनले एमालेलाई संविधान नमान्ने र गणतन्त्र उल्ट्याउन चाहने शक्तिका रुपमा चित्रित गरे । ‘संविधानलाई नमान्ने, लोकतान्त्रिक समाजवादी, गणतन्त्र उल्टा्याउन चाहने राप्रपा र (केपी शर्मा) ओली नेतृत्वको एमाले एक ठाउँमा उभिने अवस्था छ,’ उनले भने, ‘हामी त्यहाँ (एमालेमा) भएको भए के हुन्थ्यो हालत रु हरि बिजोग हुन्थ्यो ।’
पहिले आफ्नो समूहमा रहेका र पार्टी विभाजन गर्दा साथ नदिएर एमालेमै बसेका नेताहरु भीम रावल, घनश्याम भूसाललगायतलाई लक्षित गर्दै नेता नेपालले भने, ‘त्यहाँ भएका मान्छेको हालत भएजस्तै ।’
एमालेका धेरै नेतालाई अध्यक्ष ओलीको व्यवहार र निर्णय चित्त नबुझे पनि बोल्न नसक्ने अवस्थामा रहेको उनले टिप्पणी गरे ।