देउवाले आफूलाई फेरि एकपटक जिताउन महाधिवेशन प्रतिनिधिलाई गरे अनुरोध

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफू नेतृत्वको सरकार बनेपछि मुलुक त्रासमुक्त बनेको दाबी गरेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमाले नेतृत्वको सरकारका बेला डर त्रास रहेको र आफूले सरकारको नेतृत्व गरेपछि मुलुक त्रासमुक्त बनेको बताएका हुन् ।

‘साथीहरू तपाईँहरूलाई थाहै छ, हाम्रो देशभर कस्तो अवस्था थियो, सारा साथीहरू डराउनुपर्ने अवस्था थियो । डरत्रासको अवस्था थियो । जुन दिन मेरो सरकार बन्यो म प्रधानमन्त्री भएको भोलिपल्ट नै सबै मान्छेले मुक्ति पाएको अवस्था भयो । त्यस्तो अवस्थाबाट जो मुक्ति पाएका छौं, त्यसलाई बचाउने हो कि होइन ? त्यसका लागि यो महाधिवेशनले तयार गर्छ । यो महाधिवेशनले डरत्रासबाट मुक्त समाज निर्माण गर्ने कि नगर्ने भन्ने निर्धारण गर्नुपर्छ,’ देउवाले भने ।
देउवाले ओलीको शासनबाट जनताले मुक्ति पाएको भन्दै मुक्ति बचाउने हो कि नबचाउने भन्ने प्रश्न रहेको बताए । देउवाले आफूलाई फेरि एकपटक जिताउन महाधिवेशन प्रतिनिधिलाई अनुरोध पनि गरे ।
त्यस्तै उनले आफ्नो सरकारले निर्वाचन गराए तीनै तहमा कांग्रेसको सरकार बनाएर छाड्ने दाबीसमेत गरेका छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार अस्तव्यस्त र गतिहीन भएको आरोप लगाए ।
नेता पौडेलले अहिले देशको परिस्थिति गम्भीर अवस्थामा पुगेको पनि तर्क गरे । एक वर्षभित्र पार्टीले विरोधी शक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति रहेको भन्दै विरोधीसँग जुध्न सक्ने नेतृत्व चयन अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।