एमसीसीका कारण पाँच दलीय गठबन्धन नटुट्ने नेपाली काँग्रेसका सहमहामन्त्री : जीवन परियारको दावी

जनसेवा न्यूज डटकम संवाददाता
नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दलहरूको सहमति बिना पास हुन नसक्ने बताएका छन् । सहमहामन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक पोखरा आएका परियारले प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमसीसी नेपालका लागि ऋण नभइ अनुदान भएकाले सबै दलको सहमतिमा पास गर्नुपर्ने बताएका हुन् ।
एमसीसी सम्झौता गर्दाका बखत केही बुँदा नेपाल हित विपरित समावेश भएकाले भए त्यसलाई हटाएर अघि बढाउनुपर्ने उनको भनाइ छ । परियारले एमसीसीका कारण पाँच दलीय गठबन्धन नटुट्ने बताए । ‘पाँच दल बीचको गठबन्धन टुट्ने कुनै सम्भावना छैन, आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने वा नरहनेबारे पार्टीमा छलफल भएको छैन’ उनले भने, ‘आगामी निर्वाचनमा तालमेलका वारेमा पार्टीभित्र छलफल गरेर टुंगो लगाइनेछ, दलहरुबीच सबै ठाउँमा तालमेल नभएपनि केही ठाउँमा भने हुनसक्छ ।’
सहमहामन्त्री परियारले पार्टीको महाधिवेशन सकिने चरणमा रहेकाले समिति पूर्ण बनेपछि आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताए । उनले महाधिवेशनले पार्टीमा निकै उत्साह थपेको बताउँदै आगामी निर्वाचनमा नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गरे ।