लोखिम स्वास्थ्य चौकीलाई समाजसेवी राईले गरे ‘अल्ट्रा साउण्ड’ मेसिन सहयोग

सोलुखुम्बु । समाजसेवी एवं लोखिम सरोकार समाजका निवर्तमान अध्यक्ष भलकाजी राईले जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमस्थित स्वास्थ्य चौकीलाई ‘अल्ट्रा साउण्ड’ मेसिन सहयोग गरेका छन् । विहीबार वडा अध्यक्ष भुपालसिंह राईको उपस्थितिमा समाजसेवी राईले सात लाख रुपैयाँ बराबरको अल्ट्रा साउण्ड मेसिन ‘लोखिम स्वास्थ्य चौकी’लाई हस्तान्तरण गरेका हुन् ।
अल्ट्रा साउण्ड मेसिन हस्तान्तरण गर्दै समाजसेवी राईले लोखिमको स्वास्थ्य र शिक्षा क्षेत्रमा आफ्नो निरन्तर सहयोग रहने बताए । त्यसोत, समाजसेवी राईले यस अगाडि पनि लोखिममा कयौं पटक स्वास्थ्य शिविरहरु सञ्चालन गरिसकेका छन् । यसका साथै उनले जनता माध्यमिक विद्यालयका लागि होस्टेलको भवनसमेत निर्माण गरेका थिए ।
त्यस्तै कार्यक्रममा उपस्थित वडाध्यक्ष भूपालसिंह राईले समाजसेवी राईको योगदान अतुलनीय रहेको भन्दै धन्यवाद ज्ञापन गरे । साथै वडाध्यक्ष राईले लोखिम सरोकार समाजले गर्दै आएको कामको प्रसंसा गर्दै आगामी दिनमा पनि एकापसमा समन्वय गरेर काम गर्दै जानुपर्ने धारणा राखे ।
यस्तै ‘लोखिम स्वास्थ्य चौकी’मा कार्यरत अहेब हरिप्रसाद राई, अनमी विमला राई, सिनियर अहेब राम नारायण मेहेता, एचए शान्ति राईलगायतले समाजसेवी भलकाजी राई र लोखिम सरोकार समाजका टिमलाई धन्यवाद ज्ञापन गरे ।