वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेका एक लागूऔषध समानसहित नागढुङ्गाबाट पक्राउ

काठमाडौं । नियन्त्रित लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पकाहमैनपुर गाउँपालिका–२ बस्ने २० वर्षीय सुनिल साह रहेका छन् ।
उनलाई चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ५ सय एम्पुल डाईजेपाम, ५ सय एम्पुल नुफिन, ५ सय एम्पुल फेनारगन र ९ सय ट्याब्लेट नाईट्राभेट सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना।८ ख ४६८० नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी , झापा, मेचिनगर नगरपालिका–६ मेची पुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका –५ बस्ने ३६ वर्षीय राजु विक रहेका छन् ।
उनको साथबाट प्रहरीले ८ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ बरामत गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका राजुलाई लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको टोलीले जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।