२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

नवलपुरको मध्यविन्दू जिल्ला अस्पतालमा रहेको कर्मचारीमा कोरोना देखिएपछि पीसीआर परीक्षण बन्द

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दू जिल्ला अस्पतालमा रहेको पिसीआर प्रयोगशालामा पीसीआर परीक्षण बन्द भएको छ ।

प्रयोगशालामा रहेका दुई कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएसँगै पिसीआर परीक्षण बन्द भएको मध्यविन्दू जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए ।

अस्पतालमा सञ्चालनमा रहेको पिसीआर प्रयोगशालामा छ कर्मचारी रहेका थिए । तीमध्ये तीन जनाको पुस मसान्तमा करार अवधि सकिएको र बाँकी तीनमध्ये दुई जनामा कोरोना देखिएपछि आइतबारदेखि पीसीआर परीक्षण रोकिएको सूचना अधिकारी सुवेदीले बताए ।

“छ कर्मचारीमा तीन जनाको करार सकियो, दुई सङ्क्रमित भए, एक जनाले मात्रै प्रयोगशाला सञ्चालन गर्न सकिने अवस्था हुँदैन, त्यसैले बन्द भयो”, सूचना अधिकारी सुवेदीले भने ।

पिसीआर प्रयोगशालाका कर्मचारीमा कोभिडका कारण जाँच रोकिएपछि प्रदेशमा थप जनशक्ति माग गरिएको उनले बताए । उनका अनुसार प्रदेशबाट केही दिनभित्रमा जनशक्ति व्यवस्थापन गर्ने जानकारी प्राप्त भएको छ । जनशक्ति थप नहुँदासम्म पिसीआर परीक्षण भने बन्द रहने उनले बताए ।

पिसीआर परीक्षण बन्द रहे पनि एन्टिजेन परीक्षण भने नियमित हुनेछ । अस्पतालमा कोभिड परीक्षण गर्नेको चाप बढिरहँदा पीसीआर रोकिँदा समस्या हुने देखिएको छ । यसैगरी अस्पतालले अत्यावश्यक नपरी अस्पताल नआउनसमेत सबैमा अनुरोध गरेको छ ।

आइतबार एक सूचना जारी गरी कोभिड सङ्क्रमणको जोखिम बढदै गएकाले अस्पतालमा भीडभाड हुँदा थप जोखिम हुनसक्ने भन्दै अतिआवश्यक नपरेसम्म अस्पतालमा नआउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

अस्पतालका कर्मचारीमा समेत कोभिड सङ्क्रमण भई जनशक्ति कम भएको र भीडभाड हुँदा कोभिडको जोखिम थप बढ्ने भएकाले यस्तो अनुरोध गरिएको सूचना अधिकारी सुवेदीले बताए ।

“अस्पतालबाट सेवा दिइरहेका छौँ, तर पनि अतिआवश्यकबाहेक केही दिनपछि अस्पताल आए हुने बिरामी यो समयमा नआए भीड कम हुने र जोखिमसमेत कम हुने भएकाले यस्तो अनुरोध गरेका हौं”, सूचना अधिकारी सुवेदीले भने, “कर्मचारीमा कोभिड देखिएर जनशक्ति कम हुँदा सेवा दिनसमेत गाह्रो हुने भएकाले यस्तो गर्नुपरेको हो ।” रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com