२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

चितवनको रत्ननगर नगरपालिकाले विपन्न कृषकलाई अनुदानमा गाई वितरण गरे

चितवन । चितवनको रत्ननगर नगरपालिकाले यहाँका विपन्न कृषकलाई अनुदानमा गाई वितरण गरेको छ । पशुपालनमार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय विपन्न कृषकलाई ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो ।

नगरपालिकाले विपन्न किसानहरूको पहिचान गरी दुहुना गाई वितरण गरेको नगरप्रमुख नारायण वनले बताउनुभयो । किसानलाई गाई वितरणका लागि नगरपालिकाको नवौँ नगरसभाले रु एक करोड बजेट विनियोजन गरेकामा सोही बजेटबाट गाई वितरण गरिएको वनको भनाइ थियो । नगरपालिकाको रु एक करोड तथा किसानको रु एक करोड गरी रु दुई करोडको लगानीमा नगरभित्रका २०० विपन्न कृषकलाई दुधालु गाई वितरण गरिने नगरप्रमुख वनले जानकारी दिनुभयो ।

यसअघि नगरपालिकाले सुत्केरी पशुलाई भत्ता दिँदै आएको उल्लेख गर्दै नगरप्रमुख वनले अब किसानलाई उद्यमी बनाउन गाई वितरण गरिएको बताउनुभयो । विदेशबाट फर्किएर स्वदेशमै केही गर्न इच्छुक युवा र आर्थिक अभावका कारण पशुपालन गर्न नसकेका गरिब किसानहरूको पहिचान गरी गाई वितरण कार्यक्रमलाई अगाडि बढाउने वनको भनाइ छ । कार्यक्रमको शुभारम्भ गर्दै बिहीबारमात्रै १६ किसानलाई अनुदानमा गाई वितरण गरिएको छ ।

नगरप्रमुख नारायण वन तथा उपप्रमुख विमला दुवाडीले नगरपालिकामा आयोजित कार्यक्रममा संयुक्तरूपमा कृषकलाई अनुदानको गाई प्रदान गर्नुभएको थियो । नगरपालिकाले अनुदानमा गाई वितरणसँगै गोठ सुधारका लागि रु १० हजारसमेत प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताउनुभयो । नगरपालिकाले प्रदान गरेको रु १० हजारमा किसानले रु १० हजार थप गरी रु २० हजारमा गोठ मर्मतको काम गर्नुपर्ने पौडेलले बताउनुभयो ।

विपन्न कृषकले गाई खरिद गर्दा कम्तीमा रु ८० हजार मूल्य बराबरको हुनुपर्ने भन्दै नगरपालिकाका पशु विकास अधिकृत शालिग्राम पौडेलले उक्त गाईले बिहान र बेलुका गरी दैनिक कम्तीमा पनि १० लिटर दूध दिने स्वस्थ गाई हुनुपर्ने बताउनुभयो । नगरपालिकाले किसानको आर्थिक अवस्था मूल्याङ्कन गरी पशुपालनबाटै जीविका चलाउँछु भन्ने विश्वास भएको कृषकलाई मात्र अनुदानमा गाई वितरण गर्ने पौडेलको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com