२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

नेपाल सरकारका खानेपानी मन्त्री चौधरी सोमबार बिहानै सिन्धुपाल्चोक जिल्लाको हेलम्बु पुगे

काठमाडौँ । नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमबार बिहानै सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्वाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

गत असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गरिरहेको पुनर्स्थापनाको कामको स्थलगत निरीक्षण गर्न सोमबार बिहान ७ बजे नै पुनर्निर्माणस्थल पुगेका थिए ।

स्थलगत निरीक्षणमा जानु भएका मन्त्री चौधरीले ठेकेदार कम्पनीले पुनर्निर्माणको कार्य सन्तोषजनक ढंगले गरिरहेको बताए । उनले मेलम्चीको अस्थायी संरचनाबाट पानी काठमाडौँको सुन्दरीजलमा पथान्तरण गर्ने कार्य निकै कठिन र चुनौतीपूर्ण भए पनि सो कार्य सफलतापूर्वक सम्पन्न भए काम गर्ने सबै जनशक्तिलाई पुरस्कृत गर्ने समेत बताए । उनले जिम्मेवारी पुरा नगर्ने, कर्मचारी, ठेकेदार वा कामदारलाई भने दण्डित गर्ने चेतावनी पनि दिए ।

सो अवसरमा मन्त्री चौधरीले अम्वाथानमा रहेको अस्थायी संरचनाबाट पानी पथान्तरण गर्ने एक नम्बर सुरुङको, वैकल्पिक डाइभर्सन, सुरुङ गेट, ९ नम्बर गेट क्षेत्रमा थुप्रिएको माटो, ढुङ्गा र गेगर हटाउने कार्यको स्थलगत निरीक्षण गरी जानकारी लिएका थिए ।

ठेकेदार कम्पनीले हाल हेलम्बु गाउँपालिकाले निर्माण गरेको पहुँच मार्गलाई ग्राभेल गर्ने, माटो र ढुङ्गाको थुप्रो हटाउने, र पुरिएको सुरुङ खोतल्ने काम गरिरहेको छ । काठमाडौँमा अस्थायी रूपमा पानी पथान्तरण गर्ने १ नम्बर गेटको सुरुङको मुखसम्म खोतल्दा बाहिर कुनै पनि क्षति देखिएको थिएन ।

ठेकेदार कम्पनीले पुरिएका सुरुङ खोतल्दा ठूला ठूला ढुङ्गा भेटिएको र त्यसलाई ड्रिल गर्दा र एक्साभेटरले समेत फोड्न नसक्दा समस्या भएको गुनासो गरेको थियो । ठेकेदारको समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समितिले वासुदेव पौडेलले नेपाली सेनाको सहयोगमा ठूला ढुङ्गा विस्फोट गरी फोड्ने तयारी भएको बताए ।

मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले गत असारमा १ मा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको पुनर्निर्माण गर्न ठेक्का अवधि कायम रहेको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई ३६ करोड ४५ लाख ३३ हजार १ सय ८३ रुपैयाँमा सम्झौता थप गरेको थियो । मेलम्ची खानेपानी आयोजनाले बाँधस्थलमा १९ जना इन्जिनियरहरूलाई खटाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com