कालीकोटमा निशुल्क घुम्ती शिविर सञ्चालन

जनसेवा न्युज संवाददाता
कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र तिलागुफा नगरपालिकाको आयोजनामा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै कोभिड–१९ विरुद्धको खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त प्रमुख डा।रत्नवीर सुनारले जानकारी दिए ।
“नागरिकमा स्वाथ्यको पहुँच वृद्धि गर्नका लागि निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो”, उनले भने,“जिल्लाका विभिन्न ठाउँमा शिविर सञ्चालन गर्ने योजना रहेको छ।” शिविरमा करिब एकसय जनाको स्वास्थ्य जाँच गरिएको र जटिल खालका बिरामीलाई जिल्ला अस्पताल कालीकोटमा उपचारका सिफारिस गरिएको तिलागुफा नगरपालिका स्वास्थ्य सहायक नन्दा मल्लले जानकारी दिए ।
जटिल खालका बिरामीलाई जिल्ला अस्पताल कालीकोट र अन्य स्वास्थ्य संस्थामा उपचारका लागि सिफारिस गरेका छौं”, उनले भने,“सामान्य खालका बिरामीलाई शिविरमै औषधि उपचार गरिएको छ।
घुम्ती शिविरमा कोभिड–१९ विरुद्धको पहिलो, दोस्रो मात्रा र बुस्टर डोजको खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमिक्त प्रमुख डा सुनारले बताए। जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले सबैलाई कोभिड–१९ विरुद्धको खोप दिने लक्ष्यसाथ घुम्ती शिविर सञ्चालन गर्दै आएको र जिल्लाका विभिन्न स्थानमा घुम्ती शिविरलाई तीव्रता दिने डा सुनारले बताए । रासस