चितवनमा भजन चुड्कामार्फत् एमसीसीको विरोध
चितवन । नेपालका विभिन्न स्थानमा एमसीसीको विरोध प्रदर्शन भइरहेको छ । पछिल्लो केही दिनयता प्रर्दशनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप समेत हुँदै आएको छ ।
चितवनमा भने आज फरक तरिकाले एमसीसीको विरोध गरिएको छ । पूर्वी चितवनको खैरहनीमा एमसीसीविरुद्ध खैचडीसहित भजन चुड्का गाएर विरोध प्रदर्शन गरिएको छ ।
राष्ट्रिय शक्ति नेपाल र नेपालका लागि नेपाली पार्टीको संयुक्त आयोजनामा भएको विरोध प्रदर्शन कार्यक्रम शान्तिपूर्ण रुपमा भएको हो । कार्यक्रममा सहभागीहरुले पर्सा बजारमा र्यालीपश्चात् चौबीसकोठी चोकमा खैचडीसहित भजन चुड्का गाएका थिए ।
भजन चुड्कामार्फत उनीहरुले एमसीसी पास गर्न नहुने भन्दै विरोध जनाएका थिए । नेपाल एउटा राम्रो फूलवारी भएकाले नेपालमा विदेशी ल्याए यस्तो फूलवारी पछि नपाइने, नेताहरु कुर्ची तानातानमा लागेको जस्ता विषय भजन चुड्कामा समावेश गरेको राष्ट्रिय शक्ति नेपाल चितवनका सचिवका विशाल डल्लाकोटीले जानकारी दिए ।
एमसीसी नेपालको हितमा नरहेकोले एमसीसी पास नगर्न नेताहरुलाई दवाव दिन मौलिक तरिकाको भजन चुड्का मार्फत विरोध गरिएको उनले बताए ।