२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

युक्रेन : जहाँ देशको अपीलपछि ‘बर्दी’ लगाइरहेका छन् सर्वसाधारण

एजेन्सी

रुसको हमलापछि लाखौँ जनता युक्रेन छोडेर गएका छन् । सयौँको संख्यामा मानिस अन्य देशमा जानका लागि सीमामा लाइन लागेर बसिरहेका छन् ।

जबदेखि रुसले युक्रेनमाथि हमला गरेको छ त्यतिबेलादेखि अहिलेसम्म करिब एक लाख १५ हजारभन्दा बढी जनता सीमा पार गरेर पोल्याण्ड गइसकेका छन् ।
तर देश छोडेर जान त्यति सहज छ र ?

भाग्नेमा महिला र बालबालिकाः

​केही मानिस दुई दिनदेखि लगातार हिँडिरहेका छन् । छिमेकी मुलुकसँग जोडिएका सीमाबाट १०–१० किलोमिटर टाढासम्म मानिसको लाइन छ । धेरै मानिस युक्रेनको हालको अवस्थाबाट बचेर बाहिर निस्कन चाहन्छन् ।

यस्तै, रुसले मिसाइल बर्साइरहेको छ । अमेरिकामा युक्रेनकी राजदूतले रुसमाथि आरोप लगाउँदै भनिन्, ‘रुसले सर्वसाधारणलाई निशाना बनाइरहेको छ ।’ अब परमाणु हमलाको खतरा पनि छ ।

युक्रेन छोडेर भाग्नेमा धेरैजसो महिला र बालबालिका छन् ।

यसको एउटा ठूलो कारण यो हो कि युक्रेनमा १८ वर्षदेखि ६० वर्षका पुरुषलाई देश छोडेर नजान र देशका लागि लड्न भनिएको छ ।

बीबीसीका भिन्न भिन्न संवाददाताले युक्रेनका विभिन्न सीमामा सुरक्षित रुपमा निस्कनका लागि आशा गरेर बसिरहेका धेरैजनासँग कुराकानी गरेका छन् ।

२४ घण्टाको लाइनः

लुसी विलियम्सन, पालांका, मोल्दोवा

मोल्दोवाको सीमामा उभिएर युक्रेनलाई हेर्दा यस्तो लाग्छ कि यो महिलाको मात्रै देश हो । आमाहरुको देश । हजुरबुवा–हजुरआमाको देश । जहाँ विभिन्न रङका सुटकेस लिएर सयौँ महिला उभिएका छन् र आफ्ना बच्चालाई लिएर त्यस दिशामा अघि बढिरहेका छन् जसबारे उनीहरु आफैंलाई पनि थाहा छैन ।

एनालाई पलांका क्रसिङ पोइन्टसम्म पुग्न २४ घण्टा लाग्यो । उनको सानो पहेँलो रङको कार त्यतिबेला कार कम र एउटा सानो घरको स्टोर रुम जस्तो देखिएको थियो । जसमा कोचीकोची ब्याग भरिएका थिए । उनकी ६ वर्षकी नातिनी (छोरीकी छोरी) पनि यसै कारको पछाडिको सिटमा बसेकी थिइन् । उनीसँग कोही ठूलो मान्छे छ, यसै विश्वासले उनलाई हिम्मत दिएको थियो, त्यसैले त उनी पछाडिको सिटमा बसेर गीत गुनगुनाइरहेकी थिइन् ।

एना र उनकी छोरी दक्षिणी शहर ओडेसाबाट सिधै यहाँ पुगेका थिए । लगभग ५० किलोमिटरको यात्रा गरेर ।

यो शहर अब रुसको निशानामा छ ।

जब हामीले एनासँग कुराकानी गर्न सुरु गर्यौँ तब उनको अनुहारमा मन्द मुस्कान थियो तर कुरा गर्दा गर्दै उनी कता हराइन् । केही शब्दपछि उनका आँखा रसाए ।

आफ्ना श्रीमानलाई याद गर्दै उनी सुक्सुकाउन थालिन् ।

आफ्नी छोरी र उसकी छोरीसँग मात्रै आफू यहाँ आएको कुरा बताउन उनलाई मुश्किल भइरहेको थियो किनभने उनका श्रीमान देशलाई रुसको हमलाबाट बचाउनका लागि त्यहाँ नै बसेका छन् ।

उनी भन्छिन्, ‘म आशा गर्छु कि पश्चिमी देश यो भयावह परिस्थितिमा हाम्रो मद्दत गर्नेछ किनभने जुन माहैल छ त्यसमा त हाम्रो देश मात्रै रुसको रिस र आक्रमणसँग जुधिरहेको छ ।’

तर पीडाबीच पनि आशाको किरण देखिन्छ । सास हुञ्जेल आश भनिन्छ नि ।

यस्तै स्थिति यहाँ पनि थियो । एनाका चारैतिर यस्ता भोलुन्टियर थिए जसले युक्रेनबाट बचेर आइरहेका मानिसको मद्दत गरिरहेका थिए ।

तर के एक व्यवस्थित जीवन, परिवार, सपनालाई छोडेर बाँच्न सजिलो छ ?

एनाजस्ता धेरै मानिस छन् जसले आफ्ना वर्षौं पुरानो सपना छोडेर मोल्दोवा आइसकेका छन् । तर यीमध्ये सायद कसैलाई पनि थाहा छैन कि ज्यान त बच्यो तर जीवन कस्तो होला ।

तर यो चिन्ता आफ्नाका लागि मात्रै होइन, त्यो देशका लागि पनि हो जहाँ बस्दा उनीहरु आफूलाई सुरक्षित ठान्दथे तर आज त्यहि देश आफ्नो स्वतन्त्रताका लागि लडिरहेको छ ।

कुनै पुरुषलाई अनुमति छैन

मार्क लोवेन, पोल्याण्ड

किएभबाट रातभरीको यात्रा
पोल्याण्डको यो १९ औं शताब्दिको रेलवे स्टेशनको पहिचान पछिल्ला केही दिनमा फेरिइसकेको छ ।

अब यो एउटा रेलवे स्टेशन मात्रै होइन, यो स्टेशन ती व्यक्तिका लागि स्वागत द्वारजस्तो हो जहाँ यहाँ पुगेर मानिस बाँच्ने आशा गरिरहेका छन् ।

केटराइना लियोन्तिएवा आफूलाई त्यहाँसम्म पुग्न ५२ घण्टाको समय लागेको बताउँछिन् ।

उनीसँग उनकी छोरी पनि ५२ घण्टाको यात्रा निश्चित गरेर खारकिएवबाट यहाँसम्म पुगेकी छिन् ।

आफ्नो पासपोर्टलाई निकै बलियोसँग समातेर उनले पोल्याण्ड प्रवेश गरेकी हुन् । पोल्याण्ड हाल देश होइन जिउँदो रहने एक आशा बनेको छ ।

जब मैले उनलाई यहाँ पुगेपछि कस्तो महसुस भयो त भनेर सोधेँ तब उनका शब्द पछि सुनिए, त्योभन्दा अघि आँसु बर्सिए ।

उनी भन्छिन्, ‘म अहिले केही बुझ्न सकिरहेको छैन । केही पनि बुझिरहेकी छैन । तर म यो एउटा सानो यात्रा होस् जुन छिटोभन्दा छिटो समाप्त होस् भनेर प्रार्थना गरिरहेकी छु ।’

त्यहाँ नै वेटिङ रुममा हामीले इरेन भेट्यौँ जो आफ्ना दुई साना बच्चासहित यहाँसम्म आइपुगिन् । तर श्रीमान्।।। श्रीमान् देशको सुरक्षाका लागि युक्रेनमा नै छन् ।

उनी भन्छिन्, ‘महिला र बालबालिकालाई मात्रै जाने अनुमति छ । पुरुष त्यहाँ नै बस्न चाहन्छन् । लड्न चाहन्छन् र देशका लागि आफ्नो रगत बगाउन चाहन्छन् । उनीहरु सबै नायक हुन् ।’

तर श्रीमान्लाई पछाडि, हमलाबीच छोडेर आउनु कति मुश्किल छ ?

उनी भन्छिन्, ‘म भित्रैदेखि डराएकी छु । सबै ठिक हुनेछ भनेर हामीले विश्वास र आशा गरिरहेका छौँ । हामी प्रार्थना मात्रै गर्न सक्छौँ, अरु के नै गर्न सक्छौँ र ?’

बच्चा जिउँदो रहुन्, दुनियाँ देख्न सकून् त्यसैले आमाबुवाले उनीहरुलाई छोडिरहेका छन्

निक थोरेपे, हंगरी

भिक्टोरिया पश्चिमी युक्रेनको इरशावाबाट यहाँ हंगरी पुगेकी हुन् ।

उनी भन्छिन्, ‘म आफ्ना दुई छोरीसँग यहाँ आएकी हुँ । म उनीहरुलाई यहाँ हाम्रो आफन्त भएठाउँ छोडेर आफ्ना श्रीमान् भएठाउँ जानेछु ।’

के तपाईंलाई फिर्ता हुन डर लागेको छैन ?

उनी भन्छिन्, ‘साँच्चै भन्ने हो भने डर त लागेको छ । तर मलाई आफूभन्दा बढी मेरी छोरीका लागि डर छ । म स्पष्ट रुपमा देखिरहेकी छु कि स्थिति ठिक छैन तर म आफ्नो देशलाई पनि त छोड्न सक्दिनँ । हामी देशभक्त हुनुपर्छ ।’

बीबीसी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com