काँग्रेस मकवानपुर सभापतिमा संस्थापन पक्षका उम्मेदवारबीच पुनः मतदान हुने

जनसेवा न्युज संवाददाता
काठमाडौँ । नेपाली काँग्रेस मकवानपुरको नेतृत्वका लागि संस्थापन पक्षका दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचनबाट हुने भएको छ । संस्थापन इतर पक्षका उम्मेदवारले सोमबार भएको मतदानमा तेस्रो स्थान प्राप्त गर्दै बाहिरिएपछि संस्थापन पक्षका उम्मेदवारबीच निर्वाचन हुने निश्चित भएको हो ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न मतदानमा सभापति पदमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा निर्वाचन दोस्रो चरणमा धकेलिएको हो ।
काँग्रेस मकवानपुरको सभापतिका लागि संस्थापन र इतर पक्षबाट गरि ३ जना निर्वाचनमा होमिएका थिए ।
निर्वाचनमा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी रहेको थियो । संस्थापन पक्षबाट बुद्ध लामा र आनन्दराम पराजुली उम्मेदवार थिए भने इतर पक्षबाट जयराम लामिछाने चुनावी अभियानमा थिए ।
सोमबारको मतदानमा कुल १७७५ मत खसेकोमा सभापतिमा उम्मेदवार बुद्ध लामाले सबै भन्दा बढी ५९५ मत प्राप्त गरेका थिए । यद्यपि त्यो जितका लागि प्रयाप्त भएन । काँग्रेसको विधान अनुसार सभापति पदमा निर्वाचित हुन कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त हुनुपर्छ । लामाले प्राप्त गरेको मत ५१ प्रतिशत नपुग्दा सभापतिमा पुनः मतदान हुने भएको हो ।
त्यस्तै सभापति बन्ने लाइनमा रहेका इतर पक्षका लामिछाने सोमबारको निर्वाचनमा तेस्रो स्थानमा सिमित भए । उनले कुल खसेको मत मध्ये ५३१ मत प्राप्त गरे । यो सँगै लामिछाने सभापतिको रेसबाट बाहिरिएका छन् ।
सभापतिका उम्मेदवार उम्मेदवार पराजुली सोमबारको निर्वाचनमा दोस्रो हुँदै ५४५ मत प्राप्त गरे । अब काँग्रेस मकवानपुरको सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनबाट लाग्ने निर्वाचन अधिकृत गोपि शर्मा सुवेदीले जानकारी दिए ।
उनका अनुसार दोस्रो चरणको निर्वाचन प्रक्रिया मंगलबार बिहानबाट सुरु हुनेछ । आवश्यक तयारी पूरा गरेर केही समयबाटै मतदान सुरु गर्ने उनले बताए ।