२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा पालिकास्तरीय दोस्रो किशोरी सम्मेलन

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा पालिकास्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ ।

११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मङ्गलबार भएको सम्मेलनले बालविवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११ बुँदे घोषणापत्र जारी गरेको छ ।

गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरि गाउँपालिकाको समन्वय र सङ्गम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना गरिएको थियो ।

सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेको सङ्गमका अध्यक्ष दिपेन्द्र शर्माले बताउनुभयो ।

धवलागिरिको ताकम, मुना, मुदी र लुलाङको चारवटा वडाका ११ विद्यालयमा गठन भएका किशोरी सञ्जालका २८ प्रतिनिधिको सहभागिता थियो ।

किशोरीले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने विषयमा सम्मेलनमा छलफल भएको थियो ।

किशोरावस्थामा विवाह गर्दा हुने असर तथा हानीका बारेमा समुदायस्तरमा सचेतना फैलाउने, बीस वर्ष पुगेपछि मात्र विवाह गर्ने, बीस वर्षभन्दा कम उमेरमा विवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई जानकारी गराउने र कानुनी कारबाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ ।

सबै विद्यालयमा महिनावारी हँदा प्रयोग गर्ने प्याड विसर्जनका लागि इन्सिलेटरको व्यवस्थापन गर्न माग गरेको सम्मेलनमा सहभागीहरूले महिनावारी हुँदा सफला र धोएको प्याड घाममा सुकाएर मात्र प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बीस वर्ष नपुगी विवाह गर्ने जोडीहरूको गाउँ–ठाउँमा मिलाउने गलत प्रवृत्तिको विरोध गर्ने र त्यस्तो हुन लागेको जानकारी पाएमा प्रहरीलाई सूचना दिने घोषणापत्रमा उल्लेख छ । किशोरीमाथि हुने यौन शोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको ग्यारेन्टी र त्यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन् ।

महिनावारीलाई प्राकृतिक प्रक्रियाका रूपमा लिन आग्रह गर्दै त्यो अवस्थामा अँध्यारो कोठामा थुन्ने, घरबाट बाहिर निस्कन नदिने, मिठो मसिनो खान नदिने अन्धविश्वास र रुढीबादीको भत्र्सना गर्दै महिनावारीको अवस्थामा किशोरीमैत्री वातावरण बनाउन आग्रह गरेका छन् ।

बाँच्न, संरक्षण, विकास र सहभागिताको नैसर्गिक अधिकारको सहजरूपमा उपभोग गर्ने वातावरण बनाउन माग गरेका छन् । सम्मेलनमा सहभागीहरूले बालविवाह नियन्त्रणमा समुदायबाट सहयोग नपाएको, सामाजिक हिसाबले दबाब आउने गरेका, महिनावारीको समयमा विद्यालयमा उचित वातावरण नुहँदा घरमै बस्न बाध्य भएको, यौन दुव्र्यवहार भएको, महिला र पुरुषको समान ज्याला कायम नभएको बताएका थिए ।

किशोरी सञ्जालमार्फत विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रमका साथै बालविवाह हुन लागेको सूचना जनप्रतिनिधि र प्रहरीलाई गराएको बताएका थिए । सम्मेलनको अवसरमा बालविवाह न्यूनीकरणमा योगदान गर्ने एक विद्यालय, एक किशोरी समूह र दुई किशोरीलाई पुरस्कृत गरिएको थियो ।

उत्कृष्ट बनेको लमसुङ माविलाई रु १० हजार बराबरको स्पिकर र हेम माविको सक्रिय किशोरी समूहलाई रु १० हजार नगद प्रदान गरिएको थियो ।

किसानी मावि धारापानीको सञ्जालकी सचिव देविका विक र वुद्धिविकास माविको किशोरी सञ्जालका अध्यक्ष अमृता रसाइलीलाई उत्कृष्ट किशोरीको रूपमा रु पाँच÷पाँच हजार नगद प्रदान गरिएको थियो ।

कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले संवैधानिक अधिकारको प्रयोग गर्न महिला सक्षम भएर अग्रसर बन्नुपर्ने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बालविवाह न्यूनीकरणका लागि सङ्गमसँग सहकार्य गरेर उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com