२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

स्थानीय तहमा एमालेको जित सुनिश्चित छ : अध्यक्ष ओली

(रासस)
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका छन् । एमाले जिल्ला कमिटी मोरङले बुधबार आयोजना गरेको तराई मधेश बृहत् जनसभालाई सम्बोधन गर्दै उनले समृद्धिको यात्रामा कतै पनि नअल्मलिकन देशव्यापीरूपमा लाग्ने विश्वास दिलाए ।

अध्यक्ष ओलीले जन्मसिद्ध आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने भन्दै नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । एमालेभित्रको घुसपैठले पार्टी सरकार विस्थापित भएको बताउँदै अध्यक्ष ओलीले पार्टीमा गलत काम गर्नेहरू चिनिएकाले उनीहरूलाई जनताले ठेगान लगाउने ठोकुवा गरे । उनले आफ्नो पार्टी जनताका माझमा निकै बलियो भएको तर्क गर्दै विगतमा एमाले सही नीतिका कारण नेपालको भूमि फिर्ता ल्याएको दाबी गरे ।

आफू नेतृत्वमा बनेका सरकारले रक्सौल काठमाडौं रेलसेवा, सुरुङमार्ग, काठमाडौंमा सुक्खा बन्दरगाह जस्ता राष्ट्रिय गौरवको योजना ल्याएको बताउँदै अध्यक्ष ओलीले कोभिड–१९ को महामारीबाट नागरिकको जीवन सुरक्षा गर्न हरसम्भव प्रयास गरेको बताए । सरकारले एकै दिन ३९६ अस्पताल र २६५ वटा सडक शिलान्यास गरेको स्मरण गर्दै उनले जनताका हितका निम्ति आएका यस्ता योजनालाई सरकारले काट्न नहुने धारणा राखे । सदरमुकाम जोड्ने बुटवल, ढल्केवर, गोरुसिङे, नेपालगञ्ज र धनगढीमा चारदेखि छ लेनको बाटो बनाएको भन्दै जनतालाई अनुभूति गराउने किसिमको विकास गरेको दाबी गरे ।
एमालेका सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिएर सामाजिक न्याय गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले जनताको चाहना एवं भावनाअनुसार काम गरेको उल्लेख गरे । सो अवसरमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित रङ्गेली नगरपालिका प्रमुख दिलीप अग्रवाल (बगडिया), उपप्रमुख केशवकुमारी खराल, वडा नं ७ का वडाध्यक्ष रामचन्द्र मण्डल, वडा नं ५ का वडाध्यक्ष महानन्द मण्डल र वडा नं १ का वडाध्यक्ष महेश खनालसहितका कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टीका जिल्ला अध्यक्ष ऋषि पोखरेलले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com