२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

‘नेपाल आइडल भएपछि प्रेसर महसुस गरेको छु : गायक भूपेन्द्र थापा

निबार ‘नेपाल आइडल सिजन–४’ को विजेता बनेपछि गायक भूपेन्द्र थापामगर यतिबेला चर्चाको केन्द्रमा छन् । प्रतियोगिताको टप ३ मा रहेका प्रतिस्पर्धी नाम्गेल तामाङ र रञ्जित नेपालीलाई पछि पर्दै उनले उपाधिको साथमा नगद ३० लाख समेत हात परेका छन् । नेपाल आइडलको पहिलो सिजनदेखि नियमित र पटक पटक उपाधिका लागि कोसिस गर्दै आएका उनले चौथो सिजनमा आएर सफलता हात पार्न सफल भएका हुन् । प्रस्तुत छ, नेपाल आइडल विजेता बन्दाको खुसी र आगामी दिनको योजनाको विषयमा उनले जनसेवा न्युज सँग गरेको कुराकानीको सम्पादित अंश ।

नेपाल आइडल सिजन–४’ को विजेता हुनुभयो । कस्तो अनुभूति भइरहेको छ ?

एकदमै खुसी छु । धेरै मानिसको साथ र सपोर्टले मैले सफलता प्राप्त गरेको हो । आफ्नो गाउँ, ठाउँ मात्र नभर देश तथा विदेशका सबै नेपाली दाजुभाइको मलाई सहयोग रह्यो । त्यो हिसावले आफूलाई भाग्यमानी सोच्छु ।
लाखौ नेपालीले देख्ने सपना हो नेपाल आइडलको उपाधि । त्यो सपना आज मेरो पुरा भएको छ । उपाधिले मलाई एक किसिमको जिम्मेवारी थपिदिएको छ । यस अगाडिको जस्तो मिहिनेत गरेर मैले अवको दिनमा हुँदैन र पुग्दैन । त्यसैले अहिले खुसी र हर्षित त छु नै । साथै, जिम्मेवारी बहनको भारी पनि बोक्दैछु ।

विजेता बन्छु भन्ने लागेको थियो त ?

नेपाल आइडलको मञ्चमा उपाधिका लागि यो मेरो चौथो प्रयास थियो । यस अगाडिका पहिलो, दोस्रो र तेस्रो सिजनमा पनि म सहभागी थिएँ । पहिलोदेखि तेस्रोसम्म म भोटिङ सिजन अगाडि नै आउट भएको थिएँ । यो सिजनमा कम्तिमा पनि भोटिङ राउण्डसम्म पुगेर भोट माग्ने इच्छा थियो । साथीहरुसँग पनि एक पटक भोट माग्न पाए सपना पुरा हुन्थ्यो भन्थेँ । नभन्दै यसपाली म भोटिङ राउन्डमा पुगे । एकपटक भोट मागें । भोट माग्दा माग्दा फाइनलसम्म पुगेर उपाधि समेत जितें ।

केले विजेता बनायो जस्तो लाग्छ ?

पहिलो कुरो त मेरो मिहिनेत नै हो । मैले निकै मिहिनेत गरेको थिएँ । अर्को कुरो कुनै पनि मानिसले तन, मन, धन सबै कुरो लगाएर एउटा क्षेत्रमा निरन्तर मिहिनेत गर्छ भने एकदिन उ सफल हुन्छ । त्यसको उदाहरण म भएको छु अहिले । यदि पहिलो सिजनको असफलतापछि म हराएको भए वा फेरि प्रयास नगरेको भए, धैर्य नराखेको भए अहिले कहाँ उपाधि जित्न सक्थे र ?

अबको यात्रामा के कस्ता चुनौती देख्नु भएको छ ?

हिजो अस्तिका भन्दा धेरै चुनौती छ । विजेता भएपछि के गर्ने, कसरी अगाडि बढ्ने भन्ने चिन्ता लागेको छ । दर्शक श्रोताहरूले अहिले एकदमै रुचाउनु भएको कारणले विजेता हुन सफल भएँ । उहाँहरुलाई मैले के कोसेली दिने भन्ने कुरो मनमा खेलिरहेको छ । राम्रो गर्नुपर्ने, फरक गर्नुपर्ने र धेरैको मन राख्नुपर्ने प्रेसर महसुस गरेको छु ।

भविष्यको योजना के छ ?

निरन्तर संगीत फिल्डमै लाग्ने हो । यस अगाडि पनि मैले संगीतबाहेक केही सोच्दिन थिएँ । एक पटक जागिर खाएँ तर जागिरको कारणले संगीतबाट ढाटा रहनुपर्ने भएकाले जागिर छाडें । अब चौबीसै घन्टा संगीतमा खटिन्छु ।

बुबा आमाको सपना सांगीतिक क्षेत्र ल्याउने थियो त ?

छोराले संगीतमा केही गरोस् भन्ने बुबा आमाको पनि सपना छ । उहाँहरुको पूर्ण सपोर्टले गर्दा आज मैले सफलता हात पारेको छु । म असफल भएपछि उहाँहरुले रोकतोक गरेको भए आजको सफलता कसरी मिल्थ्यो र रु सुरुमा नेपाल आइडलमा आउन पनि आमाले नै हौस्याएको हो ।

नेपाल आइडलको मञ्चलाई कसरी हेर्नु भएको छ ?

नेपाल आइडल मेरो मन, मुटु हो । आइडलको विजेता हुने सपना मेरो पहिलेदेखि नै थियो । त्यसैले पनि पटक पटक असफलतामा पनि निरन्तरता दिएँ । निरन्तर लाग्नु भनेको सफलता प्राप्त गर्नु हो ।

नेपाल आइडलमा सहभागी हुन चाहनेलाई के भन्नुहुन्छ ?

नेपाल आइडल एउटा उपर्युक्त प्लेटफर्म हो । यसका लागि राम्रो तयारी गरेर आउनु होला । एकपटक असफलता मिल्यो भन्दैमा निराश नहुनुहोला । निरन्तर लागि रहनुहोला । सफलता अवश्य मिल्छ ।

के कारणले नेपाल आइडल रोजाइमा पर्यो ?

गायनको संघर्षको क्रममा जो कोही पनि एउटा राम्रो प्लेटफमको खोजीमा हुन्छ । पहिलो सिजनको नेपाल आइडल एकदमै भब्य थियो । त्यो देख्दा यो प्लेटफर्मले मेरो भविष्य बन्छ भनेर होमिए । पटक पटक सहभागी हुँदा पनि म कहिल्यै माइनस भइनँ । केही न केही सिक्न पाएँ ।

यस अघिका रियालिटी शोका धेरै विजेता त्यतिकै हराएका छन् नि ?

नेपाल एउटा सानो देश हो । तर बिभिन्न क्षेत्रका सेलिब्रेटी धेरै छन् । त्यसैले पनि यहाँ प्रतिस्पर्धा धेरै छ । त्यसैले जसले यहाँ नयाँ केही दिन सक्छ । त्यो टिक्छ, अन्य हराउँछन् । समय परिस्थिति बुझेर नयाँ केही दिन सकियो भने हराउनु पर्दैन । अर्को कुरो श्रोताले कतिबेला के रुचाउनुहुन्छ भन्नेमा पनि भर पर्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com