२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारीले तीन महिनादेखि तालाबन्दी

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारीले तीन महिनादेखि तालाबन्दी गर्दा प्रशासनिक कामदेखि स्वास्थ्य सेवा प्रदानमा समेत सास्ती भएको छ । श्रम ऐन र पुराना सहमतिअनुसारको सेवासुविधा माग गर्दै अस्पतालका कर्मचारीले गत २० पुसमा प्रशासन भवनमा तालाबन्दी गरिदिए । लामो समय माग सुनुवाइ नभएको भन्दै दुईवटा डीनको कार्यकक्षमा पनि ताला लगाए । अझै कर्मचारीको माग सुनुवाइ भएको छैन ।

कर्मचारीको आन्दोलनले प्रशासनदेखि उपचारमा समेत समस्या सुरु भएको छ । उपचार कक्षमा तालाबन्दी नगरे पनि कर्मचारी व्यवस्थापन र सामाग्री खरिदमा समस्या भएको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले २०७४ सालमा कर्मचारी युनियनसँग गरेको ७ बुँदे सम्झौताअनुसारका सेवासुविधा दिनुपर्ने कर्मचारीहरूको माग छ ।

कर्मचारी अमृत पौडेलले आफ्ना मागहरु नयाँ नभएको र सहमति कार्यान्वयनलाई मात्र अघि सारिएको बताए । ‘यी कुनै पनि माग नयाँ होइनन् । अस्पताल प्रशासन र कर्मचारी युनियन बीच भएको सहमति कार्यान्वयनको माग हो,’ उनले भने, ‘धेरै पटक घच्घच्यायौं । अस्पतालले सुन्दै सुनेन । बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।’

कर्मचारीलाई सुत्केरी बिदा, चाडपर्व र किरिया बिदा दिनुपर्ने उनीहरूको माग छ । मणिपालमा सधैँजसो कर्मचारी र व्यवस्थापन पक्षको मनमुटाव बाहिरिन्छ । कहिले तलब वृद्धिको मागमा आन्दोलन हुन्छ भने कहिले सहमति कार्यान्वयनको दबाबका लागि । मणिपाल २०५९ सालमा खुलेको हो । आफ्ना मागबारे कर्मचारी युनियनले श्रम तथा रोजगार कार्यालय पोखरामा निवेदन दिएका थिए । श्रम कार्यालयले उपदान लगायतका सुविधा तत्कालै लागू गर्न निर्देशनात्मक पत्र दियो । तर, अस्पतालले त्यसलाई थन्क्याएर राखेको कर्मचारीको आरोप छ ।

‘नेपालको ऐनअनुसार खुलेको कम्पनीले नेपालकै श्रम ऐन मान्दैन । सरकारी निकायले दिएका निर्देशन पनि टेर्दैन,’ युनियनका अध्यक्ष जीवनबहादुर थापा भन्छन्, ‘ऐन नियम मान्दिनँ भन्ने अस्पतालमाथी सरकार किन चुप छ ?’

यसबाहेकका माग पनि कर्मचारीले अघि सारेका छन् । यसअघि गरिएको कोरोना बिमाको रकम पाउनुपर्ने, चाडपर्वमा खटाएका कर्मचारीलाई छुट्टै तलब सुविधा दिइनुपर्ने लगायत माग राखेका छन् । केही कर्मचारी कोभिड संक्रमणमा परेको र उनीहरूको बिमा गरिएको भए पनि अस्पतालले आफैँले बिमा रकम लुकाएको उनीहरूको आरोप छ । माग सुनुवाइ नभए केही दिनमै उपचार कक्षमा समेत तालाबन्दी गर्ने उनीहरूले चेतावनी दिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com