२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

राष्ट्रिय आविस्कार केन्द्रलाई बेलायतमा एकैदिन २० लाख जुट्यो

जनसेवा न्युज संवाददाता

राष्ट्रिय आविष्कार केन्द्रको लागि बेलायतबाट एकैदिन बीस लाख भन्दा बढी सहयोग जुटेको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् समाजसेवी महावीर पुन बेलायत हुँदै युरोप भ्रमणका क्रममा हाल बेलायतमा छन् । उनले बेलायतका विभिन्न विश्वविद्यालय, कम्पनी तथा विशेषज्ञहरूसँग भेटघाट गर्ने र अनुसन्धान एवम् विकासमा सहयोग, सहकार्य र परियोजना सम्बन्धि छलफल गरिरहेका छन् ।

बेलायतस्थित विभिन्न समुदायसँग अन्तर संवादमा व्यस्त पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बेलायतबाट १३ हजार पाउण्ड (२० लाख ५४ हजार रुपैयाँ) सहयोग प्राप्त भइसकेको छ भने सहयोग जुट्ने क्रम जारी छ ।

बेलायतस्थित युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकासायर (यूक्लान) मा पुनसँग आयोजित अन्तरक्रियामा १० हजार पाउण्ड सहयोग प्राप्त भएको हो । बिज एजुकेसनले आयोजना गरेको उक्त अन्तरक्रियामा यूक्लानका दक्षिण एसिया निर्देशक गोविन्दसिंह विष्टले १० हजार पाउण्ड प्रदान गरेका हुन् । सोही दिन साँझ बिज एजुकेसन र नेपाली समाज प्रिस्टनले महारानी रेष्टुरेन्ट प्रिस्टनमा गरेको अन्तरक्रियामा तीन हजार पाउण्ड संकलन भयो ।

कार्यक्रममा नेपाली समाज प्रिस्टनले ६ सय एक पाउण्ड र बिज एजुकेशनका निर्देशक हरि कार्कीले २ हजार ३ सय ९९ पाउण्ड प्रदान गरेका थिए । यसअघि यूक्लानमा भएको अन्तरक्रियामा विश्वविद्यालयका उपकुलपति प्राध्यापक ग्राहाम बाल्डवीनले पुनलाई विशेष सम्मान गर्दै आफ्नो विश्वविद्यालयमा पुनलाई स्वागत गर्न पाउँदा हर्षित र गौरवान्वित भएको बताए ।

प्राध्यापक ग्राहामले आफ्नो विश्वविद्यालयले पनि अन्वेषण, अनुसन्धान र इन्जिनियरिङमा विज्ञता हासिल गरेको जनाउँदै आविष्कार केन्द्रसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । आविष्कार केन्द्रका युरोप संयोजक हरिकृष्ण न्यौपानेले केन्द्रको प्रोजेक्टबारे थप प्रष्ट्याउँदै आयोजक बिज एजुकेशनका निर्देशक हरि कार्की, यूक्लान नेपाली सोसाइटी, नेपाली समाज प्रिस्टोनप्रति आभार व्यक्त गरे ।

उनले महावीर पुनको युरोप भ्रमण विश्वविद्यालय र विज्ञहरुसँग सहकार्य गर्नका लागि भएको जनाउँदै प्रवासको नेपाली समुदायलाई सहयोग गर्न पनि आग्रह गरे । हाल बेलायतमा रहेका पुन अप्रिल २८ देखि युरोप भ्रमणमा जानेछन् । युरोप भ्रमणपछि मे २५ मा बेलायत फर्किएर जुन पहिलो साता उनको नेपाल फर्किने योजना रहेको संयोजक न्यौपानेले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com