२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

विश्वकपमा आज : अपराजित आयोजकलाई झिनो आशा बोकेको साबिक विजेताको चुनौती

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा आइतबार घरेलु टोली भारत र साबिक विजेता राष्ट्र इङ्गल्यान्डबिच प्रतिस्पर्धा हुँदै छ । यी दुबै टोलीले जारी विश्वकपमा छैटौँ खेल खेल्न लागेका हुन् । खेल लखनउस्थित एकाना क्रिकेट स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा हालसम्म आफूले खेलेको पाँचवटै खेलमा भारत विजयी भएको छ । यसका विपरीत अत्यन्तै निराशाजनक प्रदर्शन गरेको साबिक विजेता इङ्गल्यान्डले भने आफूले खेलेका पाँचमध्ये चार खेलमा हार भोगेको छ ।

भारत १० अंकसहित तालिकाको पहिलो र इङ्गल्यान्ड दुई अंकसहित तालिकाको सबैभन्दा तल ९१०औँ स्थानमा० आसीन छन् । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने इङ्गल्यान्डको सम्भावना अब प्राविधिक रूपमा मात्र बाँकी छ ।

भारत भने आइतबारको खेलमा इङ्गल्यान्डलाई हराउँदै अंक तालिकाको पहिलो स्थानमा उक्लने धुनमा छ । जारी विश्वकपमा हालसम्म भारत एक मात्र अपराजित राष्ट्र पनि हो । विश्वकपको इतिहासमा हालसम्म दुई पटक मात्र साबिक विजेता राष्ट्र नकआउट चरणमा पुग्न असफल भएका छन् ।

सन् १९९२ को विश्वकपमा तत्कालीन साबिक विजेता अस्ट्रेलिया नकआउट चरणमा पुग्न असफल भएको थियो । यसका अतिरिक्त सन् १९९९ को विश्वकपमा तत्कालीन साबिक विजेता श्रीलङ्का नकआउट चरणमा पुग्न असफल भएको थियो ।

यतिबेला इङ्गल्यान्ड पनि सोही नियति भोग्ने सँघारमा देखिएको छ । आइतबार हुने खेल श्रेयस ऐयरका लागि पनि महत्त्वपूर्ण हुनेछ । इङ्गल्यान्डविरुद्धको खेलमा ६९ रन बनाउन सके एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ऐयरको दुई हजार रन पुरा हुनेछ । त्यसपछि उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दुई हजार रन पुरा गर्ने दोस्रो भारतीय ब्याट्सम्यान पनि बन्नेछन् ।

यसैगरी आइतबार हुने भारतविरुद्धको खेलमा ८२ रन बनाउन सके जोस बट्लर पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सबैभन्दा छिटो पाँच हजार रन बनाउने इङ्गल्यान्डका दोस्रो ब्याट्सम्यान बन्नेछन् । त्यसपछि उनी एकदिवसीय क्रिकेटमा पाँच हजार रन पुरा गर्ने विश्वकै छैटौँ विकेटकिपर ब्याट्सम्यान पनि बन्नेछन् ।

हालसम्म इङ्गल्यान्ड र भारतबिच एक सय ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये ५७ खेलमा भारत र ४४ खेलमा इङ्गल्यान्डले सफलता हात पारेका छन् । यी दुई राष्ट्रबिचको तीन खेल अनिर्णीत रूपमा र दुई खेल बराबरीमा सकिएका छन् ।

आफ्नो घरेलु मैदानमा खेलिएको ३३ खेलमा भारतले इङ्गल्यान्डलाई हराएको छ । इङ्गल्यान्डले भने आफ्नो घरेलु मैदानमा खेलिएको २३ खेलमा भारतलाई हराएको छ । इङ्गल्यान्डको मैदानमा भारतले १८ र भारतको मैदानमा इङ्गल्यान्डले १७ खेल जितेका छन् ।

यसका अतिरिक्त ‘न्यूट्रल भेन्यू’ मा भारतले ६ र इङ्गल्यान्डले चार खेल जितेका छन् । यी दुई राष्ट्रबिच पछिल्लो पटक सन् २०२२ को जुलाई १७ मा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको थियो । त्यो खेलमा भारत पाँच विकेटले विजयी भएको थियो । सोही क्रममा खेलिएको तीन खेलको शृङ्खला पनि भारतले नै २—१ ले जितेको थियो ।

आईसीसी एकदिवसीय विश्वकपमा भने हालसम्म भारत र इङ्गल्यान्डबिच आठवटा खेल खेलिएको छ । त्यसमध्ये चार खेलमा इङ्गल्यान्ड र तीन खेलमा भारत विजयी भएका छन् । विश्वकपमा यी दुई राष्ट्रबिचको एक खेल भने बराबरीमा सकिएको छ ।

पछिल्लो पटक सन् २०१९ को विश्वकपमा यी दुई राष्ट्रबिच भिडन्त भएको थियो । त्यो खेलमा इङ्गल्यान्डले भारतलाई ३१ रनले हराएको थियो । यी दुई राष्ट्रबिचको खेलमा विश्वकपमा बनेको सबैभन्दा बढी रन तीन सय ३८ हो भने सबैभन्दा कम रन एक सय ३२ हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com