२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

जित्ने पालिका गठबन्धनका नाममा छोड्न नहुने भन्दै उदयपुरमा कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ

उदयपुर । आफ्नो पार्टीले जित्ने पालिका गठबन्धनका नाममा छोड्न नहुने भन्दै उदयपुरमा कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गर्दै पार्टी सभापति हिमाल कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् । २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट चुनाव लडेका बलदेव चौधरीसँग ७३ मतले मात्रै पराजित भएको र अहिले एमाले फुटेको अवस्थामा कांग्रेसको जित निश्चित भएको भन्दै गठबन्धन गर्न कार्यकर्ताहरुलाई नेतृत्वलाई दवाव दिएका हुन् ।

मेयरमा जितेका चौधरी अहिले माधव कुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) मा छन् । गठबन्धनका नाममा त्रियुगा नगरपालिकाको मेयर पद नेकपा (एस) लाई छोड्न लागिएको विरोधमा चौधरीसँग त्यतिबेला पराजित भएका कांग्रेस नेता बसन्त बस्नेत, पुर्व पार्टी सभापति विदुर बस्नेतसहितका नेता कार्यकर्ताहरुले कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका उपनेता समेत रहेका उदयपुर कांग्रेसका सभापति कार्कीले भने केन्द्रीय निर्णय अनुसार नै गठबन्धन हुन लागेकोले सवैले त्यसलाई मान्नुपर्ने बताएका छन् । संस्थापन पक्ष निकट रहेका उदयपुर कांग्रेसका सभापति कार्कीले पार्टीको निर्णयमा नेता डा।शेखर कोइराला, महामन्त्री गगन थापाले समेत सहमति जनाएको भन्दै गठबन्धनको निर्णय अनुसार अघि बढ्नुपर्ने बताए ।

पार्टीको झण्डासहित पार्टी कार्यालय पुगेका कांग्रेस कार्यकर्ताहरुले भने रुख चिन्हमा नै मतदान गर्न पाउनु पर्ने माग गरेका छन् । गठबन्धन प्रक्रियाप्रति असन्तुष्ट रहेको संस्थापन इतर कांग्रेसका कार्यकर्ताहरुले नगरका वडा सभापतिहरु लगायत ३७५ जनाको हस्ताक्षर समेत संकलन गरी सभापति कार्कीलाई बुझाएका थिए ।

त्रियुगा नगरपालिकामा केन्द्रीय गठबन्धनको निणर्यानुसार नेकपा एकीकृत समाजवादीले दाबी गर्दै आएको छ । तर कांग्रेस कार्यकर्ताहरुले भने कुनै पनि बहानामा त्रियुगा नगरपालिकामा कांग्रेसले छाड्न नहुने बताएका छन् । गत निर्वाचनमा कांग्रेसका बसन्त बस्नेतले ११ हजार २९५ मत प्राप्त गरेका थिए । मेयर जितेका चौधरीले ११ हजार ३६८ मत ल्याएका थिए । त्यतिबेला एमालेबाट उपमेयरको उम्मेद्दवार बनेकी गीता रेग्मी भने कांग्रेसकी देवी चौधरीसँग ४४ मत मात्रैले पराजित भएकी थिइन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com