२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

लुम्बिनीमा ३२ लाख मतदाता, ३८३२ मतदान केन्द्र

दाङ । लुम्बिनी प्रदेशका १२ जिल्लामा मतदाता संख्या ३२ लाख बढी पुगेको छ । प्रदेशभरका १०९ पालिकामा ३२ लाखभन्दा बढी मतदाता यस पटकको स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछन् ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लुम्बिनी प्रदेशभर १६२९ मतदान स्थलमा ३८३२ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

निर्वाचनलाई सुरक्षित बनाउन संवेदनशीलताको आधारमा वर्गीकरण गरिएको छ। १५३ वटा मतदान स्थललाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको हो । जसअनुसार पाँच वटा अतिसंवेदनशील, १३७ वटा संवेदनशील र ११ वटा मतदानस्थल सामान्य अवस्थाकोमा वर्गीकरण गरिएको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।

जिल्ला सुरक्षा समितिले मतदानस्थलहरूलाई भूगोल, सीमा, सडक सञ्जाललगायतको अवस्थालाई मध्यनजर गर्दै वर्गीकरण गरेका हो । १५३ वटा मतदान स्थलमा ४१६ मतदान केन्द्र तोकिएको छ ।

दाङमा स्थानीय निर्वाचनका लागि चार लाख ९९ हजार मतदाता रहेका छन् । दुई लाख ९,०९९ जना महिला, दुई लाख ९९ हजार पुरुष र दुई जना तेस्रोलिंगी छन् ।

प्रदेशभरका पनि मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेर सोही अनुसारको सुरक्षा तयारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

१२ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयहरू अहिले चुनावका लागि आवश्यक सामग्रीहरू खरिद, आवश्यक जनशक्तिको आकलनदेखि अन्य आन्तरिक तयारीमा व्यस्त रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

चार वटा उपमहानगरपालिका रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै मतदाता घोराही उपमहानगरपालिकामा एक लाख १२ हजारभन्दा बढी रहेका छन् । जुन २०७४ सालको चुनावको भन्दा ३४ हजार ५०० ले बढी हो ।

यस्तै, दोस्रो बढी मतदाता रहेको तुलसीपुर उपमहानगरपालिकामा ०७४ सालको भन्दा ३० हजार ७८४ मतदाता थपिएर यस पटक एक लाख ७ हजार पुगेका छन् । बुटवल उपमहानगरपालिकामा ९० हजार मतदाता रहेका छन् भने नेपालगञ्ज उपमहानगरपालिकामा ८१ हजार मतदाता छन् ।

स्थानीय तहको चुनाव नजिकिंदै गर्दा राजनीतिक दल उम्मेदवार छान्न व्यस्त छन् । निर्वाचन कार्यालयहरू आवश्यक तयारीमा जुटेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com