२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

चितवनका ६ पालिकामा सत्ता गठबन्धनले गरे भागबन्डा

 

चितवन । सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने गरी टुंगो लागेपछि जिल्लाका अन्य पालिकामा सत्ता गठबन्धनले भागबन्डाको खाका तयार गरेका छन् ।

बुधबार दिउँसो बसेको सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र १ गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको खाका तयार गरेका छन् । जसअनुसार कांग्रेसले ४ पालिकाको प्रमुख र ३ पालिकाको उपप्रमुख पाउने छ ।

कांग्रेसले रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको प्रमुख पाउने मोटामोटी सहमति भएको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

यस्तै, माओवादी केन्द्रले भरतपुर महानगरसहित माडी नगरपालिकाको प्रमुख र एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख पाउने छ ।

भरतपुरमा केन्द्रले प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेसले पाउने गरी सहमति भैसकेको छ ।

कांग्रेसले भरतपुरबाहेक माडी, राप्ती र इच्छाकामनाको उपप्रमुख पाउने छ । यस्तै समाजवादीले रत्ननगरको उपप्रमुख पाउनेछ ।

माओवादीले खैरहनी र कालिका नगरपालिकाको उपमेयर पाउनेछ । कांग्रेसको भागमा परेको कालिका, रत्ननगर र खैरहनी यसअघि एमालेले जितेका पालिका हुन् ।

इच्छाकामना गाउँपालिकाको उपप्रमुखमा माओवादीले दाबी गरिरहेको छ । तर कांग्रेसले यसअघि गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेकाले केन्द्रीय नीति अनुसार अरुलाई छाड्न नसकिने जनाएको छ ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले इच्छाकामनाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले लिने जनाए ।

उम्मेदवारमा सहमति जुटाएर संयुक्तरुपमा चुनाबी प्रचारमा जाने तयारी छ । बिहीबार पुनः बैठक बसेर पालिकाहरुको भागबन्डालाई औपचारिक रुपमा टुंगो लगाउने कांग्रेस जिल्ला सभापति खनालले जनाए । उनले पालिकाको नेतृत्व टुंगो लगाएपछि वडाहरुमा समेत भागबन्डा गरेर सहमतिमा पुग्ने बताए ।

चितवनमा सत्ता गठबन्धन दलहरुको समिति बनाइएको छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा चुनावी तालमेल र सिट बाँडफाँट समिति बनेको हो ।

समितिमा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा समाजवादीका इन्चार्ज कृष्ण खनाल, जसपाका अध्यक्ष प्रेम भुजेल, राष्ट्रिय जनमोर्चाका डम्बर पुरी, नेकपा माओवादी केन्द्रका यमबहादुर परियार, नेकपा समाजवादीका सूर्यप्रसाद शर्मा र नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेल सदस्य रहेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com