२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी

गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी

काठमाडौँ । गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । आयोजक प्रदेश गण्डकीले प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गरिएको जनाएको छ । प्रतियोगिताको मिति नजिकिएसँगै गण्डकी प्रदेश खेलकुद परिषद्ले ११ वटै जिल्लामा खेलाडी छनोट सुरु गर्न जिल्ला खेलकुद समितिलाई निर्देशन दिएको छ । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले पहिलो चरणमा जिल्ला छनोटको तयारी सुरु गर्न जिल्ला खेलकुदलाई सूचना पठाइएको बताउनुभयो । उहाँका अनुसार जिल्ला छनोट सम्पन्न भएपछि प्रदेशको टोली तयार गरिनेछ ।

जिल्लाबाट छनोट भएर खेलाडीको नामावली आइसकेपछि प्रदेशस्तरीय छनोट खेल सञ्चालन हुने र छनोट भएकाका लागि बन्द प्रशिक्षण सुरु गरिने परिषद्ले जनाएको छ । उहाँले भन्नुभयो, “हामीले प्रदेशका ११ वटै जिल्लाका खेलकुद समितिलाई खेलाडी छनोट गर्न सूचना गरिसकेका छौँ, जिल्ला हुँदै प्रदेश छनोट भएर आयोजक प्रदेशको टोली तयार पारिनेछ ।”

राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको गौरवको कार्यक्रम र खेलाडीको लागि महाकुम्भ रहेकाले यसलाई भव्यरुपमा सम्पन्न गर्न छोटो समयमा धेरै काम गर्नुपर्ने अवस्था रहेको गुरुङले बताउनुभयो । नवौँ राष्ट्रिय प्रतियोगितामा ३६ खेल हुने राष्ट्रिय खेलकुद परिषद्ले यसअघि नै निर्णय गरिसकेको छ । यसपटक केही प्रदर्शनीका रुपमा खेल समावेश गरिने भएको छ ।

अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगित भएपछि सरकारले जेठ अन्तिम साता गर्ने गरी तयारी अघि बढाएको हो । प्रतियोगिताका अधिकांश खेल पोखरामा सञ्चालन हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com