२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

श्रमको सम्मान र मर्यादा हुनुपर्छ : माधव नेपाल

श्रमको सम्मान र मर्यादा हुनुपर्छ : माधव नेपाल

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म देशको विकास र रूपान्तरण सम्भव नभएको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधानले व्यवस्था गरेको समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्नेमा जोड दिए ।

श्रमजीवी जनताको विकासशील सङ्घर्षमा सहभागी बन्ने, त्यसलाई सङ्गठित पार्ने तथा नेतृत्व दिने र विजयसम्म अघि बढाउने घोषणाका साथ विसं २००६ वैशाख १० गते स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको सच्चा उत्तराधिकारीका रूपमा आफ्नो पार्टी जनताका बीचमा आएको उल्लेख गर्दै अध्यक्ष नेपालले नेपाली समाजमा भएका शोषण, दमन र निरकुंशतासँग जुधेर श्रमजीवी वर्गको हित रक्षा गर्न र लोकतन्त्रका मूल्य–मान्यता स्थापित गर्न पार्टी प्रतिबद्ध रहेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले आफ्नो सन्देशमा सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति–निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य गर्दै श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

श्रमिक आन्दोलन, विभिन्न कालखण्डका जनआन्दोलनमा श्रमजीवी जनताले गरेको बलिदानीपूर्ण सङ्घर्षका उपलब्धिको रक्षा गर्ने, प्रतिगमनकारीलाई सैद्धान्तिक तथा व्यावहारिकरूपमा परास्त गर्ने अवसरका रूपमा स्थानीय निर्वाचनलाई उपयोग गर्न आग्रह गर्दै अध्यक्ष नेपालले श्रमजीवी जनताको हित, विकास र समाजवादको आधार निर्माण गर्न नेपाली जनताले आफ्नो पार्टीलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com