एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते
एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते
पाल्पा । स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारहरुको घरदैलो अभियानमा पाल्पामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।
आइतबार रामपुर नगरपालिका–१०, झेडीबजार सिकोडाँडामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा रामपुर नगरपालिका–१०, गेझाका डिल्लीराज न्यौपाने र जीवन परियार रहेका छन ।
प्रहरी उपरीक्षक जनकबहादुर शाहीले चुनाव प्रचारप्रसारको क्रममा झडप भएको बताए । कांग्रेस रामपुरले विज्ञप्ति निकालेर गठबन्धनका चुनाव प्रचारका क्रममा युवालाई एमाले कार्यकर्ताहरुले विथोल्ने प्रयास गरेको आरोप लगाएको छ ।
एमाले रामपुर नगरपालिका–१०, गेझाका अध्यक्ष टंकप्रसाद खनालले कांग्रेसले घरदैलो कार्यक्रमको सही जानकारी नदिएको र सामान्य नारा लगाउने क्रममा झडप भएको बताए । एमाले युवाहरुले ‘कांग्रेसको पत्ता साफ’ भन्ने नारा लगाएपछि झडप सिर्जना भएको जनाइएको छ ।
आइतबार नै एमालेले उम्मेदवारसहितको घरदैलो कार्यक्रम तथा आमसभा गरेको थियो । गठबन्धनले पनि घरदैलो कार्यक्रम टोलहरुमा गरिरहेको छ । गठबन्धन र एमालेको प्रचारप्रसार टोलीबीच भेट हुन नदिन समन्वय गर्दागर्दै घटना भएको अध्यक्ष खनालले बताए ।
कांग्रेसले भने एमाले कार्यकर्ताहरु गठबन्धन भएको स्थानमा पुगेर कुटपिट गरेको आरोप लगाएको छ । झडपको क्रममा प्रचारप्रसारमा प्रयोग गरिएको स्कर्पियो, बस र मोटरसाइकलमा क्षति पुगेको छ । घटनाप्रति कांग्रेस रामपुरले ध्यानाकर्षण भएको र घटनाप्रति खेद प्रकट गरेको छ ।