२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

युक्रेनको मरिउपोलबाट ४६ जनाको उद्धार

युक्रेनको मरिउपोलबाट ४६ जनाको उद्धार

 

किभ । युक्रेनको मरिउपोलमा रहेको स्टिल उद्योगमा थुनिएका झण्डै ५० जनालाई बाहिर निकालिएको राष्ट्रसंघले जनाएको छ । रुसी रक्षा मन्त्रालयले पनि दुई पटक गरी ४६ जनालाई मरिउपोलस्थित एजोभस्टल स्टिल कारखाना परिसरबाट उद्धार गरिएको जनाएको छ । ‘अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा मानवीयतालाई ध्यान दिएर हामीले उनीहरूलाई भवनबाट सकुशल बाहिर निकालेका छौं,’ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उद्धार गरिएकामध्ये २५ जनाले दिउँसो र २१ जनाले साँझपख कारखाना परिसर छाडेका हुन् । त्यहाँबाट बाहिर निकालिएकामध्ये २० जना महिला तथा बालबालिका छन् । उद्धार गरिएकाहरूलाई रुसी सीमा क्षेत्रमा पर्ने बेजिमेन्नी लगिएको जनाइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता उक्त कारखानालाई घेराबन्दी गर्न आदेश दिएपछि सर्वसाधारण थुनिएका थिए ।

युक्रेनी अधिकारीले कारखाना परिसरमा कम्तीमा एक हजार सर्वसाधारण अझै फसिरहेका जनाएका छन् । उनीहरूलाई बाहिर निस्कन दिने विषयमा वार्ता भइरहेको बीबीसीले जनाएको छ । त्यस्तै, कारखाना परिसरमा कम्तीमा ५ सय घाइते युक्रेनी सेना रहेका जनाइएको छ ।

युक्रेनको एजोभ बटालियनका प्रमुखले आफूले थप मानिसहरू उद्धार गर्न सकिने अपेक्षा व्यक्त गरेको एएफपीले जनाएको छ । पछिल्ला साताहरूमा रुसी सेनाले युक्रेनको पूर्वी क्षेत्रमा सैनिक कारबाही तीव्र पार्दै लगेको छ । रुसी राष्ट्रपति पुटिनले एक साताअघि मरिउपोल कब्जा भएको बताउँदै त्यहाँबाट कसैलाई पनि बाहिर निस्कन नदिन आफ्नो फौजलाई निर्देशन दिएका थिए ।

युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले फेब्रुअरी २४ मा आक्रमण सुरु गरेको हो । त्यसयता रुसले युक्रेनी नागरिकलाई इच्छाविपरीत आफ्नो देशमा लगिरहेको युक्रेनको आरोप छ । यसअघि रुसले युक्रेनबाट कम्तीमा १० लाख सर्वसाधारणको उद्धार गरेको दाबी गरेको थियो । उद्धार गरिएकामध्ये १ लाख २० हजार विदेशी नागरिक भएको रुसको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com