२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी खटिँदै

निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी खटिँदै

चितवन । स्थानीय तह निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी आजदेखि मतदान केन्द्रमा खटिँदै छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमा ती कर्मचारी खटिँन लागेका हुन् ।

निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।

मतदान अधिकृतको तालिम सम्पन्न गरी आजदेखि मतदान केन्द्रमा खटाइएको हो । आज साँझसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने जनाइएको छ ।

निर्वाचनका लागि आएको मतपत्र, मतपेटिका सहितको ६१ प्रकारका सामग्री मतदान अधिकृत र सहायक अधिकृतलाई बुझाइएको कार्कीको भनाइ छ । मतदाता सङ्ख्याको आधारमा कर्मचारीको सङ्ख्या बाँडफाँट गरिएको छ ।

प्रत्येक मतदान केन्द्रमा तीन जना स्वयम्सेवक खटिने छन् । त्यस्तै मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरी पाँचजना खटिनेछन् ।

निर्वाचनमा जिल्लामा म्यादी प्रहरीको सङ्ख्या एक हजार ६५१ जना रहेको छ । जिल्लाको सुरक्षा हेरेर सुरक्षाकर्मी खटाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

उनका अनुसार सात पालिका रहेको जिल्लामा मतदानस्थलमा सुरक्षा व्यवस्था चुस्त बनाउन स्थलगत अध्ययन तथा अनुगमन भइरहेको छ । मतदानस्थललाई अति संवेदशनशील, संवेदनशील र सामान्य गरी विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।

एकीकृत सुरक्षा योजना समितिले सुरक्षाका हिसाबले जिल्लामा २५ वटा अतिसंवेदनशील, ९२ वटा संवेदनशील र ४४ वटा मतदानस्थल समान्य गरी वर्गीकरण गरेको छ ।

जिल्लाभर तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुई लाख चार हजार ६६६ जना महिला, एक लाख ९३ हजार १८ जना पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

कूल मतदातामध्ये भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२, रत्ननगर नगरपालिकामा ५२ हजार ६४२, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, राप्तीमा ४० हजार ६४९, माडीमा २८ हजार ३२० र इच्छाकामना गाउँपालिकामा १५ हजार ६३४ मतदाता रहेका छन् । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com