२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

झापाको मेचिनगर–४ का जनप्रतिनिधिद्वारा परालको गुन्द्रीमा बसेर पदभार ग्रहण

झापाको मेचिनगर–४ का जनप्रतिनिधिद्वारा परालको गुन्द्रीमा बसेर पदभार ग्रहण

झापा। झापाको मेचिनगर नगरपालिका वडा नम्बर ४ का नवनिर्वाचित वडा अध्यक्ष अर्जुनकुमार कार्कीसहितका जनप्रतिनिधिहरुले स्थानीयस्तरमा बुनेको परालको गुन्द्रीमा बसेर पदभार ग्रहण गरेका छन् । विहीबार नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले वडाध्यक्ष तथा वडा सदस्यहरुलाई सपथ खुवाएका थिए । सपथ खाए लगत्तै वडा कार्यालय पुगेका वडाध्यक्ष तथा वडा सदस्यहरुले फरक ढंगले वडा कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

मेचीनगर–४ का नवनिर्वाचित वडाध्यक्ष अर्जुनकुमार कार्कीले वडा कार्यालयमा गुन्द्रीमा बसेर पदभार समालेका हुन् । उनले आफ्नो कार्यालयको सजावटमा समेत स्थानीय उत्पादन र कलालाई समेटेर बाँसबाट बनेको विभिन्न कलाकृतिले सजिएका कप, बाँसको पेन, पाटाको टोपी, झोला, बुद्धको मूर्ति लगायतका वस्तुहरु राखेका छन्, भने स्थानीयस्तरमा उत्पादन भएको गुन्द्री प्रयोग गर्दै कार्कीले आफ्नो कला संस्कृति र स्थानीय उत्पादनलाई सबैले उपयोग गर्नुपर्ने बताउँदै जनता र समाजका लागि आफुले केही सोचेको र उक्त काम सम्पन्न गरेपश्चात मात्रै कुर्सीमा बस्ने उद्घोस गरेका छन् ।

गुन्द्रीमा बसेर पदभार ग्रहण गरेका कार्कीले सस्तो लोकप्रियताका लागि नभएर स्थानीय उत्पादनको प्रयोग तथा हाम्रा कला संस्कृतिको संरक्षण एवम् विकासका लागि उक्त सामग्रीहरु प्रयोगमा ल्याइएको समेत बताए । उनले आफ्नो पहिलो दिन समाजका वृद्ध व्यक्तिलाई हर्लिक्स, बालबालिकाहरुका लागि पौष्टिक आहारका रुपमा पिठो, विद्यार्थीहरुलाई कापीकलम, युवालाई प्रेरणादायी पुस्तक आमा र वडाको सबै डाटा राखिदिन आग्रह गर्दै पत्रकारलाई पेनड्राइभ वितरण गरेका छन् ।

पदभार ग्रहण गरेलगत्तै कार्कीले दिगो विकासको अवधारणाहरु प्रस्तुत गर्दै केही महत्त्वपूर्ण निर्णय समेत गरेका छन् । उनले यहि आइतबार देखि लागू हुनेगरी सबै विद्यालयमा जंकफुडको निषेध गर्दै स्थानीयस्तरमा उत्पादन हुने फापर, गौँ, जौ लगायतको पिठोको हलुवा तथा प्रशस्त दूध उत्पादनको केन्द्र रहेको वडामा विद्यार्थीहरुलाई खिर खुवाउन समेत आग्रह गरेका छन्, भने असारको पहिलो हप्तादेखि स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर सहितको सेवा दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै वडाध्यक्ष कार्कीले हात्ती समस्याको रुपमा नभएर अब हात्ती पर्यटनको गन्तव्यका रुपमा विकास गरेर लैजाने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । जनप्रतिनिधि हुनु अगावै देखि फरक ढंगले कला संस्कृति र पर्यटनको क्षेत्रमा अग्र भागमा रहेर काम गरिरहेका कार्कीले वडा नम्बर ४ लाई पर्यटनको गन्तव्यका रुपमा विकास गरेर लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले कर्मचारीहरुलाई जनताका हरेक समस्याहरुलाई सहज तरिकाले काम गर्न निर्देशन दिँदै भ्रष्टाचार गरेको भेटिए तत्कालै कारबाही गर्ने समेत बताएका छन्,।

कार्कीले विभिन्न समस्या लिएर वडा कार्यालयमा आउने सेवाग्राहीहरुका लागि तत्कालै वडा कार्यालयमै निस्शुल्क फोटोकपीको ब्यवस्था समेत गरिने बताएका छन् । साथै कार्कीले आफ्नो पारिश्रमिकताबाट प्रत्येक महिना सोहि वडाका आँखा नदेख्ने अपांग वृद्ध टुल्कु तामाङलाई मासिक २,०००/–रुपैयाँ दिने घोषणा गर्दै अब वृद्वाभत्ता घरघरमा उपलब्ध गराउने समेत बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com