आयोजकबाट यौन दुर्व्यवहार भएको भन्दै पत्रकार मोक्तानद्वारा पुरस्कार लिन अस्वीकार

जनसेवा न्युज डटकम संवाददाता
पत्रकार रिना मोक्तानले चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता सम्मान र पुरस्कारु नलिने घोषणा गरेकी छन् । आयोजक कमिटीका एक पदाधिकारीले आफूलाई पाँच वर्षअघि यौन दुर्व्यवहार गरेको भन्दै उनले सो पुरस्कार नलिने बताएकी हुन् ।
सामाजिक सञ्जालबाट यसबारे जानकारी दिँदै उनले लेखेकी छन्, मेरो कामको मूल्याङ्कन गरिदिएकोमा धन्यवाद । तर, घोषणा भएदेखि नै पुरस्कार लिने कि नलिने भन्ने द्विविधाले मलाई सताइरह्यो । घोषणासँगै पुरस्कारका आयोजक कमिटीका एक पदाधिकारीले करिब पाँच वर्षअघि गरेको यौन दुर्व्यवहारको घटना ताजा बनाइदियो । ममाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति संलग्न निर्णायक मण्डलबाट पुरस्कार नलिने निर्णय गरेकी छु । त्यही संस्थाका अन्य पदाधिकारीको साथ सहयोग पहिले पनि थियो, अब पनि सहकार्य चलिनै रहन्छ ।
मोक्तानको आरोपपछि संघका अध्यक्ष दिनेश सिटौलाले यसबारे गम्भीर ध्यानाकर्षण भएको बताउँदै घटनाबारे छानबिन गर्न सुरक्षा भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् ।





