२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

भरतपुर । झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ ।

सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।

विसं २०४४ चैत १८ गते भरतपुर महानगरपालिका–१० मा स्थापना भएको भतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीन वटा सेकेण्डरी अस्पताल र १० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् । चितवनसहित छ जिल्लामा अस्पताल र सेवा केन्द्र रहेका छन् । भारतयि नागरिकसहित १२ जिल्लाका बासिन्दाले प्रत्यक्षरुपमा सेवा पाएका छन् ।

सङ्घका सभापति एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेलले चितवनका सबै पालिका र छिमेकी जिल्लाका सबै पालिकामा सेवा विस्तार अभियान अघि बढाइएको बताउनुभयो ।

चितवनका कालिका र राप्तीबाहेकका पालिकामा आँखा उपचार सेवा दिइँदै आएको छ । ती दुई पालिकामा पनि छिट्टै सेवा सञ्चालनका लागि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । ठाउँ उपलब्ध गराई एक जना कर्मचारीको तलब सम्बन्धित पालिकालाई उपलब्ध गराउन अनुरोध गरिएको छ । अन्य व्यवस्थापन सङ्घले गर्ने उहाँको भनाइ छ ।

अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर डा सङ्गीता शर्मा भण्डारीले हाल अस्पतालले भरतपुर महानगरपालिका–१० स्थित भरतपुर उकालोमा चिजकुमार विष्णुकुमारी बहिरङ्ग विभाग, पर्साको ठोरी, नवलपरासीको कावासोती र बाराको सिम्रनगढमा सेकेण्डरी अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो ।

त्यस्तै चितवनको चनौली, माडी, कुरिनटार, रत्ननगर, पर्सा, धादिङको बेनीघाट र सल्यानटार, नवलपुरको चोरमारा र होप्सीकोट र सिन्धुलीको दुधौलीमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

सेकेण्डरी अस्पतालमा सबै सेवा उपलब्ध गराइएको छ भने उपचार केन्द्रमा शल्यक्रियाबाहेकका सेवा दिइँदै आएको छ । गएको असार १५ गते यता जेठ १५ गतेसम्म सेकेण्डरी अस्पताल र आँखा उपचार केन्द्रबाट ४५ हजार ३१० जनालाई सेवा दिइसकिएको छ ।

भरतपुर आँखा अस्पताल र चिजकुमार विष्णुकुमारी बहिरङ्ग विभागबाट एक लाख चार हजार ६२४ जनालाई सेवा दिइएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिनुभयो ।

यसै अवधिमा विभिन्न ठाउँमा गरिएका शिविरमा ५९ हजार १४६ को आँखाको निःशुल्क परीक्षण गरिएको थियो । १११ ठाउँमा एक दिन शिविर र १७ ठाउँमा शल्यक्रियासहितको सर्जिकल शिविर गरिएको उहाँले बताउनुभयो ।

एक दिन शिविरमा परीक्षणको क्रममा शल्यक्रिया गर्नुपर्नेलाई भरतपुर आँखा अस्पतालमा ल्याएर गरिएको छ । घिमिरेका अनुसार यस वर्ष शिविरमा चार हजार ३४१ को निःशुल्क शल्यक्रिया गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com