२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज मनाइँदै

नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज मनाइँदै

काठमाडौँ । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको सो आन्दोलन पछि जहानियाँ राणा शासनको विरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो । राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि जहानियाँ राणा शासनको विरोध गर्दै देशभर जागरण फैल्याउने काम भएको थियो । यसले कुना कन्दराका जनतालाई राणा शासकका विरुद्ध सङ्गठित गरेको थियो ।

देशका विभिन्न भाग हुँदै विद्यार्थी भारतको वनारस पुगेका थिए । राणा शासनको अन्त्य गर्न वनारसमा बसेर प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहनुभएका नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम्का अगुवा पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक हुनुभएको थियो । त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन सुरु गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

आन्दोलनको स्वर्ण वर्षको अवसरमा २०५५ सालमा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतम्लाई संस्थागत स्वरुप दिई विधिवत्रुपमा दर्ता गरिएको थियो । त्यसै वर्षदेखि संस्थागतरुपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो ।

यस अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशाला अघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्र्यापण, पुष्पगुच्छासहित विश्व शान्तिको सङ्कल्पले स्वस्ति वाचन गरिने संस्थाका अध्यक्ष डा बद्री पोखरेलले जानकारी दिनुभयो । दिवसका अवसरमा पदयात्रासमेत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

दिउँसो दरबार हाईस्कुलको एउटा हलमा संस्कृतका विषयमा छलफल गरिने कार्यक्रम रहेको संस्थाले जनाएको छ । बेलुकी भने जुम प्रविधिका माध्यमबाट जयतु संस्कृतम् संस्थाले विभिन्न राजनीतिक दलका नेतालाई राखेर छलफल गर्ने भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com