२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

धनगढीलाई साझा सहरका रूपमा विकास गरौंस् मेयर हमाल

धनगढीलाई साझा सहरका रूपमा विकास गरौंस् मेयर हमाल

जनसेवा न्युज डटकम संवाददाता

धनगढीको विकासमा साझेदारी गर्न उपमहानगरपालिकाका मेयर गोपाल हमालले प्रदेश र संघ सरकारका प्रमुखहरूसँग आग्रह गरेका छन्।

शनिबार उपमहानगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष मेयर हमालले सो आग्रह गरेका हुन्।

धनगढी सुदूरपश्चिमको मात्रै नभई नेपालका ७७ र विदेशका समेत गरी ८० ठाउँका मान्छेको बसोबास रहेको उनले बताए।

अंगीकृत नागरिकता लिएकाहरू पनि यहाँ बस्ने गरेकाले धनगढीको जनसंख्या बढेको छ।

‘धनगढीप्रति सबैको स्वामित्व छ, धनगढीको विकासमा साझेदारको आवश्यकता छ,’ उनले भने।

यहाँ आउने र घर बनाउने क्रम बढेसँगै फोहोर पनि बढेको उनले बताए।

यस्तै, डुबान र अस्तव्यस्तता पनि बढेको उनको भनाइ छ।

यी मुख्य समस्यालाई व्यवस्थित बनाउन नसके धनगढी कंक्रिटको सहरमात्रै बन्ने भन्दै उनले उपमहानगरपालिकाले ५ वर्षे गुरूयोजना बनाएर काम गर्ने बताए।

‘यो पाँच वर्षे गुरूयोजना अनुसार प्रदेश र संघ सरकारबाट सुदूरपश्चिमको साझा सहरको रूपमा विकास गर्न साझेदारी होस् भनेर अनुरोध गर्न चाहन्छु’ उनले भने।

मेयर हमालले गौरीफन्टा नाकालाई स्तरोन्नति गर्न र कैलाली प्रशासनको मातहत ल्याउन पनि प्रधानमन्त्री देउवासमक्ष आग्रह गरेका छन्।

केही वर्ष अघिसम्म कैलाली जिल्ला प्रशासनले हेर्दै आएका यो नाका अहिले कञ्चनपुर प्रशासनको मातहत छ।

‘गौरीफन्टा नाका अहिले कञ्चपुरले हेर्दै आएको छ र त्यहाँ केही समस्या परे कञ्चनपुरलाई समन्यव गर्न गाह्रो भइरहेकोले कैलालीले हेर्ने व्यवस्था मिलाई दिनुपर्यो,’ उनले भने।

सबै चिज भारतबाट आयात गर्ने देशमा पर्यटक पनि भारतबाट ल्याउन सक्नुपर्ने उनले बताए।

धनगढीको डुबानको समस्याका कारणले वर्षाका ३ महिना मेयर, उपमेयर, जनप्रतिनिधि, प्रदेश र संघ सरकारले गाली खान’ परिरहेको उनको भनाइ छ।

‘आधा शरीर डुबेको हुन्छ, केटाकेटीलाई लुगा खोलेर सडकसम्म बोकेर बाटोमा जुत्ता लुगा लाउनुपर्ने अवस्था छ, यो समस्या हटाउन अतिक्रमण हटाउनु पर्छ। यसका लागि केही संरचना पनि बनाउनुपर्ने हुन्छ,’ उनले भने।

आगामी सय वर्ष धनगढी नडुब्ने बनाउने काम गर्ने प्रण गरेको बताउँदै हमालले यसमा मुख्यमन्त्री र प्रधानमन्त्रीबाट सहयोगको आशा राखे।

गेटा मेडिकल कलेजलाई सकिन्छ भने विश्वविधालय, नभए प्रतिष्ठानका रूपमा छिटो सञ्चालन गर्नुपर्ने हमालको भनाइ छ।

‘धनगढी सबैको साझा हो, प्रधामन्त्री पनि धनगढीको बासी भएकाले पनि म यो अनुरोध गर्न चाहन्छु,’ उनले भने।

फास्ट ट्रयाक बने तेल बच्छ र धनगढीको गेट खुल्छ।

सुरूङमार्गको सपना देखाउन बन्द गरेर फास्ट ट्रयाक निर्मााण अघि बढाउनुपर्ने उनले बताए।

धनगढीको विकासका लागि बजेट आओस् भन्दै उनले प्रधनमन्त्रीसमक्ष कुरा राखेका थिए।

मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीको अवस्थाले प्रदेशकै विकासको चित्रण गर्ने भएकाले यहाँको विकासका लागि प्रदेश सरकारले पनि काम गर्ने बताए।

उनले सेती प्रादेशिक अस्पताललको विकास, धनगढीको मुख्य सडकको पुननिर्माण र डुबान नियन्त्रणका काम गर्न बजेट छुट्ट्याएको बताए।

उनले पश्चिम सेती परियोजना सञ्चालन गर्न, गेटा मेडिकल कलेजलाई प्रदेशले हेर्ने गरी सञ्चालनमा ल्याउन संघ सरकारसमक्ष आग्रह गरे।

‘तराईदेखि पहाड जोड्ने तीन सडक छिटो बनाइदिन आग्रह गर्न चाहन्छु,’ उनले भने।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com