२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

निहारिका भन्छिन् : करिश्मा दिदीलाई धन्यवाद, तर मलाई दया होइन न्याय चाहिएको छ

निहारिका भन्छिन् : करिश्मा दिदीलाई धन्यवाद, तर मलाई दया होइन न्याय चाहिएको छ

काठमाडौं । ‘कुमारी आमा’ को रुपमा परिचित निहारिका राजपूतले ७ दिन लामो अनसन तोडेपछि अभिनेत्री करिश्मा मानन्धरले उनलाई भेटिन् । निहारिकाको डेरामै पुगेकी करिश्माले शुक्रबार दिनभरि नै उनीसँग बिताएकी थिइन् ।

राष्ट्रियस्तरकी अभिनेत्री आफूलाई भेट्न आएर न्यायको लडाइँमा साथ दिने आश्वासन दिँदा निहारिकालाई पक्कै पनि हौसला र आँट मिलेको छ । यद्यपि करिश्माको एउटा प्रस्ताव भने उनले स्वीकार गरिनन् । करिश्माले निहारिकालाई ‘छोरीसरह मान्ने’ भन्दै आफ्नै घरमा लैजान खोजेकी थिइन् ।

‘उहाँले आजै घरमा जाउँ, ब्याग प्याक गरिहाल भन्नुभएको थियो’, निहारिकाले सुनाइन्, ‘तर, मैले अहिले जान्न, पछि कुनै दिन आउँला भनेको छु ।’

आफूले कसैको घरमा बास पाउनकै लागि यो लडाइँ नलडेको बताउँछिन् निहारिका । उनले भनिन्, ‘करिश्मा दिदीको माया र सद्भावका लागि म एकदमै आभारी छु । तर, मैले कसैको दयाको पात्र बन्न यो कठिन संघर्ष गरिरहेको छैन । मलाई चाहिएको न्याय हो । उहाँले न्यायको संघर्षमा पनि साथ दिनुभयो भने त्यो मेरो लागि धेरै ठूलो कुरा हुनेछ ।’

निहारिकाले थपिन्, ‘उहाँले मलाई छोरी मान्छु भन्नुभएको छ । त्यसो हो भने पनि छोरी आमाको घरमा धेरै दिन बस्न सक्दैन । छोरी माइतीमा धेरै दिन बस्नुलाई समाजले पनि ठीक मान्दैन ।’

न्याय पाएको खण्डमा आफूलाई कसैले सहारा दिनु नपर्ने र आफ्नै खुट्टामा टेकेर बाँच्न सक्ने बताउँछिन् उनी । ‘म अपांग भएको छैन । मेरो हातखुट्टा सहीसलामत छ । म आफै काम गरेर आफ्नो बच्चा पाल्न सक्छु । मलाई खालि न्याय चाहिएको छ । मलाई दया देखाउनुभन्दा पनि मानसिक रुपमा बलियो बनाउने कोसिस गरिदिनुभयो भने थ्यांकफुल हुन्छु’, उनले भनिन् ।

सहमति कार्यान्व्यन हुनेमा आशंका
७ दिनसम्म पानीसमेत नखाइकन अनसन बसेकी निहारिका अहिले शारीरिक रुपमा केही शिथिल बनेकी छन् । यद्यपि उनको साहस र मनोबल घटेको छैन ।
निहारिकाले सरकारका विभिन्न निकायसँग ५ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै आफ्नो अनसन तोडेकी थिइन् । तर, उक्त सहमति कार्यान्वयन हुनेमा उनलाई अहिले आशंका पलाएको छ । यदि सहमति कार्यान्वयन नभएको खण्डमा योभन्दा कठिन संघर्ष गर्न तयार रहेको उनी बताउँछिन् ।

उनले भनिन्, ‘म अनसनमा रहुञ्जेल उनीहरुलाई दबाब थियो । अनसन तोडेपछि सबैले हाइसञ्चो मानेर बसेको जस्तो लागिरहेको छ । तर, म उनीहरुलाई यसरी शान्तिसँग बस्न दिन्न ।’

‘म अब गृह मन्त्रालयतिर जान्छु । उहाँको नाम के हो मलाई याद भएन । तर, उहाँलाई फोन गरेर आज भनेको छु । तपाईंहरुले मसँग यदि नाटकमात्रै गर्नुभएको हो भने यो तपाईंहरुका लागि महंगो पर्नेछ । यदि सहमति कार्यान्वयन भएन भने म गृह मन्त्रालयको अगाडि नै उभिएर आफ्नो जिउमा आगो लगाइदिन्छु ।’

‘अदालतले १५ दिनभित्र झगडिया झिकाउने आदेश दिएको छ तर अहिलेसम्म अपराधीलाई पक्राउ गरिएको छैन । उहाँहरु अपराधीलाई कारबाहीभन्दा पनि खालि बच्चाको लालनपालनको कुरा गरिराख्नुभएको छ । मेरो बच्चाको लालनपालन कसैले गरिदिनुपर्दैन । म आफै गर्छु । मलाई चाहिएको त न्याय हो । मेरो लागि न्याय भनेको अपराधीले सजाय पाउनुमात्रै हो ।’

‘एउटा महिला त्यतिबेला नै मर्छिन् जतिबेला उसको बलात्कार हुन्छ । म आफ्नो लाश लिएर कति दिन हिँड्न सक्छु रु त्यसैले म निरन्तर प्रेसर दिनेछु । मेरो बच्चा बिरामी भइरहेको छ । तर म चुप लाग्दिनँ ।’
‘सहमतिका हरेक बुँदा कार्यान्वयन हुनुपर्छ । म त्यसको लागि लड्ने छु । यदि अपराधीले सजाय पाएन भने म बाँच्दिनँ । म बाँच्नै सक्दिनँ यसरी । म कुनै नाटक गर्न रोडमा गएर बसेको थिइनँ ।’

निहारिका आर्थिक समस्यासँग पनि जुझिरहेकी छन् । कोठाभाडा तिर्न र बच्चा हुर्काउन अरुको सहयोगमा निर्भर हुनुपर्ने अवस्था छ । उनले भनिन्, ‘तीन महिनाको कोठाभाडा बाँकी थियो । त्यो चाहिँ जस्मिन दिदी (महिला अधिकारकर्मी जस्मिन ओझा) को पहलमा राष्ट्रिय मानवअधिकार आयोगको सदस्य लिली थापाले व्यक्तिगतरुपमा २० हजार दिनुभयो र त्यसबाट तिरेँ । अनसन बसेपछि केही आर्थिक सहयोगहरु आएका छन्, त्यसले अरु खर्च चलाइरहेको छु ।’
सरकारसँगको सहमतिमा गृह मन्त्रालयले निहारिकालाई आर्थिक सहायता गर्ने कुरा पनि समेटिएको छ । निहारिकाका अनुसार वार्तामा संलग्न व्यक्तिहरुले गृह मन्त्रालयमार्फत उनलाई १० लाख रुपैयाँ दिलाउने आश्वासन दिएका थिए । तर, अहिले विभिन्न प्रक्रियागत कुराहरु देखाएर अल्झाउन खोजिएको उनले बताइन् ।

मेरो अनसनमा राजनीति गरियो’

निहारिकाले आफ्नो अनसनलाई केही व्यक्तिले दुरुपयोग गरेर राजनीति गर्न खोजेको आरोपसमेत लगाएकी छन् । खासगरी महिला आयोगकी सदस्य कृष्णकुमारी खतिवडाप्रति उनले आक्रोश पोखिन् ।

‘उहाँले मलाई वार्तामा बस्दादेखि नै निरन्तर दबाब र टर्चर दिनुभयो । अनसनस्थल तोड्ने दिन पनि हदैसम्मको नाटक देखाउनुभयो । मेरो अनसनलाई प्रयोग गरेर उहाँले राजनीति गर्न खोज्नुभएको रहेछ’, निहारिकाले भनिन् ।

उनले थपिन्, ‘अनसन तोड्ने दिन मैले उहाँलाई त्यहाँ नबस्न भनेको थिएँ । तर, जबरजस्ती बस्नुभयो । गृहमन्त्रीले मलाई जुस खुवाइसकेपछि मेरो हातबाट जुस खोसेर आफ्नो हातमा लिनुभयो र फोटो खिचाउनुभयो । आफूले अनसन तोडाएको भनेर मिडियामा प्रचार गराउनुभयो ।’

‘पीडितको भावनासँग खेलेर आफ्नो दुनो सोझ्याउने यस्ता स्वार्थी तत्वहरुलाई म यत्तिकै छोड्दिनँ । मसँग जसले राजनीति गर्न खोज्नुभएको छ, उहाँहरुलाई फाइदा होइन घाटा नै हुन्छ । म उनीहरुको पर्दाफास गरिदिन्छु । म सत्यको बाटोमा छु । मलाई राजनीति गरेर नेता बन्नु छैन । यिनीहरुलाई अवश्य पाठ सिकाउने छु ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com