प्रधानसेनापति शर्मा लेवनानमा, नेपाली बटालियन हेडक्वाटरको भ्रमण

प्रधानसेनापति शर्मा लेवनानमा, नेपाली बटालियन हेडक्वाटरको भ्रमण
जनसेवा न्युज डटकम संवाददाता
प्रधानसेनापति महारथी प्रभुराम शर्माले युनिफिल मिसन लेवनानमा तैनाथ नेपाली बटालियनको हेडक्वाटरको भ्रमण गरेका छन् । सोमबार उनले सो हेडक्वाटरमा तैनाथ नेपाली शान्ति सैनिकलाई सम्बोधनसमेत गरेका छन् ।
सो अवसरमा उनले शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्याएका दुई जना नेपाली शान्ति सैनिक र लामो समयदेखि लेवनानमा नेपाली सेना तथा नेपाली नागरिकहरुलाई सहयोग गरेका तीन जना लेवनानी नागरिकलाई उनीहरुले पु¥याएको योगदानको कदर स्वरुप ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेका छन् ।
प्रधानसेनापति शर्मासहित भ्रमण दलका सदस्यहरुले सोमबार नै युनिफिल हेडक्वाटरको समेत भ्रमण गरेका छन् । सो अवसरमा प्रधानसेनापति शर्माले युनिफिल मिसन लेवनानका ‘हेड अफ मिसन’ मेजर जनरल अरोलोडो लाजारो सेन्जसँग शिष्टाचार भेट गरे ।
भेटका अवसरमा मेजर जनरल अरोलोडोले लेवनानमा शान्ति स्थापनाका लागि युनिफिल मिसनमा स्थापनाकालदेखि नै नेपालको निरन्तर सहभागिता तथा व्यावसायिकताको खुलेर प्रशंसा गरेका थिए ।
सो अवसरमा प्रधानसेनापति शर्माले दक्षिण लेवनानमा शान्ति स्थापनाको लागि युनिफिलको म्यान्डेट अनुरुप कार्यसम्पादन गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको र युनिफिलमा नेपाली सेनाको निरन्तर सहभागिताको प्रतिवद्धतासमेत जनाए ।
प्रधानसेनापति शर्माको सम्मानमा युनिफिल फोर्स हेडक्वाटरको एक टुकडीले सम्मान गारतसमेत अर्पण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले जनाएको छ ।