२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

जनसेवा न्युज डटकम संवाददाता

सर्वोच्च अदालतले प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन अन्तरिम आदेश दिएको छ । चार महिना अघि जारी भएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता दिँदै सर्वोच्च अदालतले आइतबार प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतलाई नहटाउन सरकारका नाममा आदेश दिएको हो ।
गत फागुन १९ मा जारी भएको अन्तरिम आदेशको निरन्तरता दिँदै सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरि फुयाँलको संयुक्त इजलासले अध्यक्ष बस्नेतलाई हटाउने उद्देश्यले सोधिएको स्पष्टीकरणको प्रक्रिया अघि नबढाउन सरकारका नाममा आदेश दिएको हो ।

आइतबार भएको सुनुवाइमा अधिवक्ताहरू अनन्तराज लुईँटेल, विकास भट्टराई, विशाल कुमार उपाध्याय र प्रतिभा उप्रेतीले कानुनी आधारबिना बस्नेतलाई हटाउन खोजेकाले सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत सरकारको तयारी निस्तेज गराउन अन्तरिम आदेश माग गरेका थिए । प्रेस काउन्सिल ऐन, २०४८ को व्यवस्था अनुसार ४ वर्षको किटानी पदावधिका लागि नियुक्ति भएकोमा पूर्वाग्रह राखी सरकार परिवर्तन भएपछि हटाउने उद्देश्यले बस्नेसँग स्पष्टीकरण सोधिएकाले पूर्वाग्रही स्पष्टीकरणका आधारमा हटाउने प्रकृया अघि बढ्न नसक्ने कानुनविद्हरुको जिकिर थियो ।

यसअघि न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले फागुन १९ मा प्रारम्भिक सुनुवाई गरी अल्पकालिन अन्तरिम आदेश जारी गरी बस्नेतलाई नहटाउन आदेश दिएको थियो । आफूलाई हटाउनका लागि मन्त्रिपरिषदले स्पष्टीकरण सोधेको विषयमा प्रश्न उठाई बस्नेत सर्वोच्च पुगेका थिए ।

प्रेस काउन्सिल स्वतन्त्र, स्वायत्त र अर्धन्यायिक निकाय भएकाले त्यसको काम कारवाहीमा सरकारी हस्तक्षेप अमान्य हुने दावी अदालतमा गरिएको छ । अधिवक्ता समेत रहेका बस्नेतलाई अघिल्लो केपी ओली नेतृत्वको सरकारले ४ वर्षका लागि काउन्सिलमा अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

वर्तमान सरकारले भने नेपाल पत्रकार महासंघमा बस्नेतको सदस्यताको विवाद झिकि पदबाट हटाउन स्पष्टीकरण सोधेको थियो । अध्यक्ष बस्नेतले आफू २०५२ सालदेखि पत्रकारितामा रहेको, २०५५ सालदेखि महासंघमा क्रियाशिल रहेको जानकारी गराउँदै काउन्सिलमा नियुक्त हुनका लागि महासंघको सदस्यता खुलाइरहन नपर्ने जिकिर गरेका छन् ।

अध्यक्ष बस्नेतले झण्डै २० वर्ष कान्तिपुर दैनिकमा सक्रिय पत्रकारिता गरेका छन् । नेपाल टेलिभिजनको बोर्ड सदस्य हुँदै उनी २०७८ जेठ २० गते अध्यक्ष पदमा नियुक्त भएका हुन् ।
नियुक्त भए लगत्तै अनलाईन र सामाजिक सञ्जाल व्यवस्थापनमा सक्रियता देखाएका बस्नेतले पत्रपत्रिकामा आचारसंहिता पालनामा समेत कठोर कदम चालिरहेका छन् । उनले अनलाइनलाई समेत नियमनको दायरमा ल्याउन अनलाइन दर्ताअघि अनिवार्य अभिमुखीकरण कक्षा लगायतका कार्यक्रमहरु सुरु गरेका छन् ।

अध्यक्ष बस्नेत नेतृत्वको काउन्सिलको अनलाईन नियमन गर्ने काम कारबाहीलाई उच्च अदालत पाटनले हालै जारी गरेको अन्तरिम आदेशले समेत सदर गरिसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com